होटलमा केटी बोलाएको आरोपमा ग्रीनवूड र फोडेनलाई इंग्ल्याण्डको टोलीबाट हटाइयो

एजेन्सी, २२ भदौ । इंग्ल्याण्डले मासन ग्रीनवूड र फिल फोडेनलाई यूईएफए नेशन्स लिग खेल्ने टोलीबाट निकालेको छ । समूह चरणका सुरुआती दुई खेलका लागि टोलीमा परेका ग्रीनवूड र फोडेनलाई होटलमा केटी ल्याएको आरोपमा टोलीबाट निकालिएको हो ।

आइसल्याण्ड भ्रमणको क्रममा टिम रहेको होटलमा केटी ल्याएपछि दुवैलाई क्वारेन्टाइनको नियम उल्लंघन गरेको आरोप लगाइँदै टोलीबाट हटाइएको हो ।

आइसल्याण्डको एक मिडियाले दुवै खेलाडीले नियम उल्लंघन गरेको तस्बिरसहित समाचार सार्वजनिक गरेको थियो ।

गत शनिबार मात्र दुवैले राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । आइसल्याण्डविरुद्धको सो खेल इंग्ल्याण्डले १–० गोलले जितेको थियो । सो खेलमा फोडेनले इंग्ल्याण्डबाट सुरुवाती ११ मै रहेर मैदान प्रवेश गरेका थिए भने ग्रीनवूड वैकल्पिक खेलाडीको रूपमा मैदानमा उत्रिएका थिए ।

अब, इंग्ल्याण्डले मंगलबार राति डेनमार्कसँग खेल्दैछ ।

Loading...