बार्सिलोनाले कौटिन्होलाई अन्त नपठाउने

एजेन्सी, २२ भदौ । बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले ब्राजिलियन स्टार फिलिप्पे कौटिन्होलाई अन्त नपठाउने मनसाय बनाएका छन् ।

यसै सिजन बायर्न म्युनिखबाट फर्किएका मिडफिल्डर कौटिन्होलाई टोलीमै राख्ने कोइम्यानको तयारी रहेको बताइएको छ ।

सन् २०१९ मा लोनमा बायर्न गएर च्याम्पियन्स लिग जित्न सफल उनी यसै साता मात्र क्याप नोउ फर्किएका हुन् ।

पुनः बार्सिलोनाले लोनमा अन्यत्र पठाउने चर्चा चलिरहेका बेला कोइम्यानले भने उनलाई टोलीमै राख्ने तयारी गरेको स्पेनिस मिडिया मार्काले जनाएको छ ।

खबरका अनुसार २८ वर्षीय कौटिन्होलाई बार्सिलोनाले स्थायी रूपमा क्लबमा राख्न चाहेको छ ।

बायर्नले १२० मिलियन युरो तिर्दै स्थायी खेलाडी बनाउन अस्वीकार गरेपछि पुनः बार्सिलोना फर्किएका उनले अब भने क्याप नोउबाट मौका पाउन सक्ने आशा लिएका छन् ।

यता, कोइम्यानले पनि सेन्ट्रल मिडफिल्डरका रूपमा कौटिन्होलाई प्रयोग गर्ने योजना बनाएको खबरमा उल्लेख गरिएको छ ।

Loading...