तेस्रो पटक क्लब छोड्ने घोषणा गरेका मेस्सी प्रशिक्षणमा फर्किए

एजेन्सी, २२ भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लबको प्रशिक्षमणमा फर्किएका छन् । तेस्रो पटक क्लब छोड्ने घोषणा गरेका अर्जेन्टिनी स्टार मेस्सी सोमबार (आज) मध्याह्नबाट बार्सिलोनाको प्रशिक्षण मैदान फर्किएका हुन् ।

आइतबार आफ्नै घरमा पीसीआर परीक्षण गराएका उनी रिपोर्ट नेगेटिभ आएपछि प्रशिक्षणमा फर्किएका हुन् । बार्सिलोनाले अघिल्लो साता कोरोना परीक्षण गर्दा र प्रशिक्षण थाल्दा क्लब छोड्ने घोषणा गर्दै अनुपस्थित भएका मेस्सी क्याप नोउ छोड्ने मनसाय त्याग्दै प्रशिक्षणमा फर्किएका हुन् ।

सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले गत शुक्रबार अन्तर्वार्ताका क्रममा क्लबमै रहने स्पष्ट पारेका थिए । २५ अगस्टमा क्लब छोड्ने घोषणा गरेका उनी ११ दिनपछि क्पाप नोउमै बस्ने मनसायमा फर्किए ।

मेस्सीले हालै दिएको एक अन्तर्वार्तामा आफू क्याप नोउमै बस्ने जनाएका थिए । ‘गोल डटकम’सँगको अन्तर्वार्तामा उनले भनेका थिए, ‘म बार्सिलोनामा रहन्छु र मेरो मनोवृत्ति परिवर्तन हुँदैन । मैले क्लब र अध्यक्षलाई जान चाहने बताएको थिएँ, मैले हरेक वर्ष यस्तो भन्दै आएको छु ।’

यसअघि पनि मेस्सीले दुई पटक क्लब छोड्ने घोषणा गरेका थिए । उनले सन् २०१४ र २०१६ मा गरी दुई पटक क्लब छोड्ने निर्णय गरेका थिए । सन् २०१४ मा खराब सिजन भएका कारण र २०१६ मा करको समस्याका कारणले उनले क्याप नोउ छोड्ने मनसाय बनाएका थिए । तर, उनले दुवै पटक छोडेनन् ।

२०१३–१४ को सिजन खराब रहेपछि बार्सिलोनाले प्रशिक्षक टाटा मार्टिनोलाई बर्खास्त गरेको थियो । सो सिजन मेस्सीका लागि खराब रह्यो । कोपा डेल रेमा क्रिस्टियानो रोनाल्डो सम्मेलित रियल मड्रिडसँग पराजित भयो ।

यस्तै ला लिगाको उपाधि एथ्लेटिको मड्रिडलाई सुम्पियो र च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा एथ्लेटिकोसँगै पराजित भयो । सिजनको अन्त्य हुनुभन्दा एक साताअघि नै मेस्सीले क्लब छोड्ने मनसाय बनाएका थिए । तर, पछि उनले आफ्नो मनसाय परिवर्तन गरेर पुनः बार्सिलोनाबाटै खेले ।

यस्तै सन् २०१५ को सेप्टेम्बरमा उनलाई स्पेनमा करसम्बन्धी समस्याले पिरोल्यो । कर अधिकारी र न्यायाधीशले मेस्सीलाई वित्तीय अपराधको लागि छानबिन गर्न आग्रह गरेका थिए । जसकारण, मेस्सीले आफूलाई सताएको महशुस गरे र छोड्ने मनसाय बनाए ।

अघिल्लो वर्ष ‘आरएसीवान’सँग बोल्दै मेस्सीले भनेका छन्, ‘त्यो समय मैले छोड्ने विचार गरेको थिएँ । मेरो चाहना बार्सिलोना छोड्ने थिएन, स्पेन छोड्ने थियो । किनकि, मलाई सो बेला दुर्व्यवहार भएको महशुस थियो ।’

करसम्बन्धी समस्या समाधान भएपछि उनले बार्सिलोना छोड्ने मूड त्यागिदिएका थिए ।

Loading...