कोरोना भाइरसविरुद्ध फ्याबिपिरबिरको प्रभावकारिताबारे अध्ययन हुने

विराटनगर, २२ भदौ । कोरोना भाइरसविरुद्ध फ्याबिपिरबिर नामको औषधिको प्रभावकारिताबारे अध्ययन गर्ने योजना भइरहेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार फ्याबिपिरबिर औषधि नेपालमा पनि उत्पादन भइसकेको छ । स्वास्थ्य मन्त्रालय तथा औषधि व्यवस्था विभागले विश्लेषण अनुमति दिएमा अनुसन्धान सुरु गर्न तयार रहेको उनले जानकारी दिएका हुन् ।

फ्याबिपिरबिर गम्भीर बिरामीलाई नभई सामान्य लक्षण देखिएका बिरामीहरूलाई मात्र खुवाउने बताइएको छ । डा. ज्ञवालीले अहिले प्रयोगमा रहेको एन्टीभाइरल औषधि रेम्डेसिभिरको तुलनामा फ्याबिपिरबिर सस्तो र यसको कुनै गम्भीर साइड इफेक्ट नरहेको बताएका छन् ।

अनुसन्धान परिषद्को योजनाअनुसार अहिले फ्याबिपिरबिरलाई एक सयजनामा परीक्षण गरिने छ । एन्टीभाइरल औषधि फ्याबिपिरबिर कोभिड–१९ बिरामीमा प्रयोग गर्न चीन, रुस र भारतलगायतका देशमा पनि अनुमति दिइएको छ ।

Loading...