Rumpum

Rumpum Advertisement

कृषि क्षेत्रमा औद्योगिक घराना : गोल्छाको ७० र गोल्यानको ३५ बिघामा कृषि फर्म

कृषि क्षेत्रमा औद्योगिक घराना : गोल्छाको ७० र गोल्यानको ३५ बिघामा कृषि फर्म

विराटनगर, २२ भदौ । औद्योगिक र व्यावसायिक घरानाहरु कृषि क्षेत्रमा लगानी गर्न थालेका छन् । तीन तहकै सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका कारण औद्योगिक र व्यापारिक घरानाले कृषि क्षेत्रमा लगानी गर्न थालेका हुन् ।

विराटनगरको व्यापारिक घराना गोल्छा समूहले सुनसरीको बर्जु गाउँपालिकामा ७० बिघा जमिनमा अरिहन्त एग्रीफार्म एन्ड रिसर्च सेन्टर सुरु गरेको छ । गोल्यान समूहले झापाकोे बाह्रदशी गाउँपालिका–१ मा गोल्यान एग्रो ट्रेड प्रालिले ३५ बिघा जमिनमा तरकारी तथा फलफूल खेती सुरु गरेको छ ।

हवाइ कम्पनी बुद्ध एयरको स्वामित्वमा रहेको नेपाल कृषि कम्पनीले किसानलाई लक्ष्य गरेर पाँच करोड बराबरका मेसिनरी उपलब्ध गराइरहेको छ । परम्परागत खेती प्रणालीबाट किसानलाई अत्याधुनिक मेसिनबाट खेतीका लागि प्रेरित गर्न नेपाल कृषि कम्पनीले काम गरिरहेको छ । किसानलाई जोत्नेदेखि गोड्ने, मेसिनले बिउ छर्ने रोप्ने, गोड्ने र बाली पाकेपछि काट्न पनि मेसिन नै प्रयोग गर्न किसानलाई समूह बनाएर मेसिनरी भाडामा दिँदै आएको छ ।

झापाको बाह्रदशी गाउँपालिकामा गोल्यान एग्रो ट्रेड प्रालिले गत वर्षदेखि सुरु गरेको स्ट्रबरी खेतीबाट उत्पादित स्ट्रबरीले पूर्वी नेपाल र राजधानीमा मात्रै होइन अन्य मुलुकमा समेत बजार पाएको छ ।
पूर्वका लागि नौलो खेती स्ट्रबरी भएकाले झापा र जिल्ला बाहिरबाट स्ट्रबरी खेती हेर्न र ताजा स्ट्रबरी खरिद गर्न हिउँदमा दैनिक एक सयदेखि चार सयको संख्यामा मानिसहरु फर्ममै आउने गरेको स्ट्रबरी फर्मका कर्मचारी राजेन्द्र भट्टले जनाए ।

पहिले परीक्षणका लागि चार कठ्ठा जमिनमा गरिएको स्ट्रबरी खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३५ बिघा जमिनमा खेती गरिएको हो ।

भारतको कोलकत्ताबाट चार प्रकारका स्ट्रबरीका बिरुवा ल्याएर खेती सुरु गरिएको हो । चिसो र उच्च क्षेत्रमा मात्र हुन्छ भन्ने मान्यता राख्ने कृषकका लागि झापामा फलेको स्ट्रबरीले धेरैलाई अचम्मितसमेत बनाएको थियो । स्ट्रबरी जाडोमा तयार हुने फल हो ।

स्वीट सेन्सेसन, स्वरिडा ब्युटी, क्यामारुजा र नामिलिया नामक जातका गरी छ लाख स्ट्रबरीका बोट रहेको छ, करिब चार लाख बोटले उत्पादन दिइरहेको छ भने अरु बोटबाट पनि उत्पादन तयार भइरहेको छ ।

रोपेको दुई महिनाबाट फल्न सुरु गर्छ । हरेक तीन दिनमा स्ट्रबरी टिप्ने गरिएको छ । अझै एक महिनासम्म उत्पादन भइरहने छ । हालसम्ममा करिब ५० टन स्ट्रबरी बजारमा बिक्री भइसकेको बताइएको छ भने समय र मौसमअनुसार मूल्य फेरबदल भइरहने भए पनि यतिबेला कम्पनीले स्ट्रबरीलाई तीन तहमा वर्गीकरण गरेर मूल्य निर्धारण गरेको छ, जसमा प्रतिकिलो चार सयदेखि एक हजार रुपैयाँसम्म रहेको छ ।

१० करोडभन्दा बढीको लगानीमा सुरु गरिएको खेतीमा ५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कृषिलाई पूर्ण व्यावसायिक बनाउँदै कृषिबाट नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने एक उदाहरण बनेको छ बाह्रदशीको यस कृषि फर्म । नेपालको विभिन्न ठाउँमा गरी एक हजार बिघा क्षेत्रफलमा फलफूल खेती गर्ने लक्ष्यअनुसार हाल दुई सय बिघामा अग्र्यानिक फलफूल खेती सुरु गरिसककेको कम्पनीका कृषि वैज्ञानिक विवेक शुक्लाले बताएका छन् ।

गोल्छा अर्गनाइजेशनका राजकुमार गोल्छाले सञ्चालन गरेको अरिहन्त एग्रीफार्म एन्ड रिसर्च सेन्टरले यस वर्षदेखि विषादीरहित तरकारी उत्पादन सुरु गरेको छ । ग्रिन र नेट हाउसभित्रको थोपा सिँचाइ खेतीमा लगाइएको बालीनाली हिउँद, तुषारो, कुहिरो, हावाहुरी र असिनाजस्ता प्राकृतिक प्रकोपबाट समेत जोगाउन सकिन्छ ।

सुनसरीको बर्जु गाउँपालिकामा रहेको गोल्छा फार्ममा सेन्टरले उच्च मूल्यका तरकारी उत्पादन गर्ने उद्देश्यले ग्रिन र नेट हाउसभित्र थोपा सिँचाइबाट खेती गर्दै आएको छ ।

पहिलो वर्ष १३ कट्ठा जमिनमा ग्रिन र नेट हाउस बनाएर काम सुरु गरेको अरिहन्त एग्रीफार्मले पाँच वर्षमा २० बिघा क्षेत्रफलमा ग्रिन हाउस खेती गर्ने लक्ष्य लिएको छ । तेह्र कट्ठा जमिनका लागि ग्रिन हाउस निर्माण गर्न ६० लाखको लगानी गरिसकेको सेन्टरका निर्देशक सोमनाथ अधिकारीले जानकारी दिए ।

निर्देशक अधिकारीका अनुसार ग्रिन हाउस खेती इजरायली प्रविधि र सामग्रीमा आधारित छ । खेती घेराबेरा गर्न यहाँ प्रयोग गरिएको नेट र प्लास्टिक त्रिपालले प्राकृतिक विपतबाट मात्र जोगाउँदैन बिरुवालाई चाहिने आवश्यक तापक्रमको पनि व्यवस्थापन गर्छ । साथै बिरुवामा लाग्ने रोग र किरालाई पनि भित्र पस्न दिँदैन । यसबाट उत्पादकत्व वृद्धि हुन्छ ।

थोपा सिँचाइअन्तर्गत खेती गर्दा सम्पूर्ण जमिनमा सबैतिर सिँचाइ गरिँदैन, मल–विषादी र अन्य पोषक तत्व पनि जमिनभरि छरिँदैन । सिँचाइ, विषादी, मल, औषधि सबै पाइपबाट बिरुवाको जरासम्म थोपा–थोपा गरेर पठाइन्छ ।

प्राविधिकका सल्लाह र सुझावमा बिरुवालाई चाहिने जतिमात्र सिँचाइ, विषादी, मल र अन्य ओखती पाइपका माध्यमबाट पठाइने हुँदा यसलाई थोपा खेती भनिएको हो । अहिलेसम्म फलामे तारको घेराबेरा तथा इजरायली जाली र नेट लगाउने काम सकिएको अधिकारीले जानकारी दिए । इजरायलको जाली र नेट उत्पादकले १० वर्षको ग्यारेन्टी दिएको उनले बताए ।

एक वर्षमा कम्तीमा पनि तीन चक्र खेती गर्ने लक्ष्य लिएको र चार चक्रको प्रयास पनि गरिने निर्देशक अधिकारीले जानकारी दिए ।

प्रदेश नम्बर १ कै नमुना खेतीका रूपमा यसलाई विकसित गर्न लागिएको अधिकारीको जानकारी दिए । गत वर्षको मङ्सिर महिनादेखि खेतीका उत्पादन बजारमा आएका छन् । थोपा सिँचाइ खेतीका लागि नारायणघाटस्थित एग्रो भिजनले प्राविधिक सहयोग गरिरहेको छ ।

तीन वर्षअघि सुरु गरेको अरिहन्तले हाल ७० बिघा जमिनमा खेती गरिरहेको छ । जसमध्ये ४० बिघामा उखु खेती छ । बाँकी १० बिघामा सुपाडी, १० बिघामा कागती, अमला, अम्बा, र १० बिघामा धान खेती गरिएको छ । यस वर्षदेखि मकै खेती पनि गरिने अधिकारीले जनाए ।