जोकोभिकले निर्णायकलाई बलले हिर्काएपछि…

एजेन्सी, २२ भदौ । विश्व टेनिसको शीर्ष वरीयताका नोभाक जोकोभिकलाई अमेरिकामा जारी यूएस ओपन टेनिस प्रतियोगिता खेल्न अयोग्य घोषित गरिएको छ । निर्णायकलाई बलले हिर्काएपछि सर्बियन स्टार जोकोभिकलाई खेल अनुशासनको उलंघन गरेको भन्दै प्रतियोगिताबाट निकालिएको हो ।

यूएस ओपनको चौथो चरणको खेलका क्रममा जोकोभिकले बाहिरी घेरामा बसेका निर्णायकलाई बलले हिर्काएका थिए ।

स्पेनका खेलाडी पाब्लो करिनो बुस्टासँग ६–५ को अवस्थामा सर्भिस गर्न गएका जोकोभिकले सर्भिस बिगारेपछि खल्तिबाट अर्को बल निकालेर भुइँमा हानेका थिए । त्यही बल गएर बाहिरी घेरामा निर्णायकको जिम्मेवारी सम्हालिरहेका महिला निर्णायकको घाँटीमा लागेको थियो ।

घटनालगत्तै बसेको निर्णायकहरूको बैठकमा लामो बहसपछि जोकोभिकले जानिजानी गल्ती गरेको निष्कर्ष निकाल्दै जारी खेलका लागि अयोग्य घोषित गर्ने निर्णय भएको थियो ।

जारी ग्राण्डस्लाम उपाधिको दावेदार मानिएका जोकोभिकलाई आफ्नै गलत कदमले १८औं पटक उपाधि जित्ने अवसरबाट विमुख हुनुपरेको छ ।

जोकोभिकलाई प्रतियोगिताको पुरस्कार राशीबराबरको वा अन्य सबै किसिमको जरिवाना तिराउने पनि अमेरिकी टेनिस संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यता, जोकोभिकले भने सामाजिक सञ्जाल ट्वीटरमा माफी मागेका छन् ।

Loading...