‘बोल्दा राज्यले सुनेन्, अब अनसन बस्छु’

विराटनगर, २२ भदौ । जनताको न्यूनतम आवश्यकता पूरा गर्न पटक–पटक खबरदारी गर्दा राज्यले नसुनेको भन्दै नेपाली कांग्रेस प्रदेश १ सचेतक सांसद केदार कार्कीले अनसन बस्ने बताएका छन् । संविधानले ज्ञारेन्टी गरेको न्यूनतम सुविधा नपाएर जनताको मृत्यु भइरहेको उल्लेख गर्दै उनले अनसन बस्ने बताएका हुन् ।

‘धेरै बोलियो, सरकार बहिरो रहेछ, बोल्दा सुनेन्,’ उनले भने, ‘अब अनसन बस्नुको विकल्प भएन ।’

भ्रष्टाचारमा लिप्त भएको सरकारले पटक–पटक खबरदारी गर्दा नसुनेको उनको गुनासो छ । ‘सबै बिरामीलाई उपचार गर्ने व्यवस्था मिलाऊ भनेर पटक–पटक भनियो, उपचार नपाएर बिरामीको मृत्यु भइसकेको छ ।’ कोशी अनलाइनसँग कार्कीले भने, ‘स्वास्थ्य उपचार संविधानले ज्ञारेन्टी गरेको अधिकार हो, तर सरकारले उपचार गर्ने व्यवस्था मिलाउन सकेन, भ्रष्टाचारमा लिप्त भयो ।’

कोरोना संक्रमणको जोखिम देखाउँदै निजी र सरकारी दुबै अस्पताल पन्छिने गरेको गुनासो छ । विराटनगरका अस्पतालले भर्दा नगर्दा भदौमा मात्रै पाँचजनाको अस्पताल डुलाउँदा–डुलाउँदै मृत्यु भएको छ । तर प्रदेश र संघीय सरकार मौन बसेको उनको भनाइ छ । ‘बोल्न नसुनेपछि अब अनसन बस्ने अवस्थामा पुगेको छु,’ उनले भने, ‘कोरोनाका काममा जताततै भ्रष्टाचार छ, जनता उपचार नपाएर छटपटाइरहेका छन्, सरकार तत्काल सच्चियोस्, बोल्दा सुन्दैन भने अनसन बस्छु ।’

Loading...