रौता पोखरी : जोखिमयुक्त सिमसार

प्रा.डा. केआर खम्बु

परिचय :
पूर्वी नेपालको मध्यपहाडी भूभागको रौता भन्ज्याङको काखमा बसेको एक पुरानो प्राकृतिक पोखरीको नाम हो रौतापोखरी । हाल यो नेपालको नयाँ संघीय संरचनाअनुसार प्रदेश नं १ को उदयपुर जिल्लाको रौतामाई गापाअन्तर्गत पर्दछ । मुर्कुचीको सिमेन्ट ढुंगा खानीबाट सिधैँ उठेको पहाडी भूभाग १९०० मिटर उचाइमा अवस्थित रौता डाँडोको भन्ञ्याङमा पुगी टुंगिन्छ । यस डाँडोमा एउटा मृत अवस्थामा पुगिसकेको सिद्धपोखरी भेटिन्छ । (चित्र १) वर्षायाममा यहाँ पनि पानी जमेर ठूलो आहालझैँ बन्ने गर्छ । यही सिद्धपोखरी डाँडोबाट करिब १५० मिटर तलतिरको उत्तर–पूर्वी पाटोमा रौता पोखरी बसेको छ । (चित्र २) यो पोखरीको भौगोलिक अवस्थिति करिब २६.९४ डिग्री उत्तरी आक्षांश र ८६.६५ डिग्री पूर्वी देशान्तरमा स्थित छ साथै समुन्द्र सतहबाछ करिब १७४० मिटर उचाइमा अवस्थित छ । यसलाई हेर्दा अण्डाकार देखिन्छ अर्थात् यसको आकार चार कुना मिलेको छैन । यसर्थ यस्तो अनियमित आकार भएकोलाई तत्काल क्षेत्रफल निकाल्न मुस्किल पर्छ । यसको छेउछाउ बाक्लो जंगल नभए तापनि कटुस, गुराँस आदिका रूख तथा लेकाली पोथ्राहरू पाइन्छन् ।

पोखरीको भूस्वरूप :

यस पोखरीमा पस्ने पानीको स्रोतहरू जस्तै जलाधार, मूल, खोला, खोल्सी, भँगालो, बाक्लो जंगल आदि केही देखिँदैन । यस माथिको डाँडो वर्षे पानीले भिजेर रिचार्ज हुने गर्छ अनि वर्षैभरि चुहेर यहाँ जम्मा हुन गई यो पोखरी बनिएको छ । यसको निकास पनि छेउछाउ प्रष्टसँग कही देखिन्न । तर यसको सिधैं तलतिर करिब १५० मिटर मुनि भने जरूवा मूल पानी पाइन्छ । स्थानीयहरू यसै मूलपानीलाई पोखरीको निकास मान्ने गर्छन् । यो जरूवा पानी खाने पानीको स्रोत हुँदै सानो खोल्सी बनिन्छ अनि अझ तलतिर बग्दै गई सुनकोशीसँग मिसिने बेलामा गतिलै खोला बनिन्छ । दक्षिणतिर योभन्दा अग्लो भन्ज्याङ पर्दछ साथै यसको ठीक पल्लो पट्टिबाट एउटा सानो खोला निस्कन्छ र पछि गाईघाट उपत्यका पुग्दा त्रियुगा नदी बन्दछ ।

यो पोखरी र कोशीको बीचमा भिरालो भूभाग पर्दछ । यसको यही भिरालो जमिनमा पातलो घरहरू भएको एउटा गाउँ छ । यही गाउँको सबभन्दा सिरानमा पोखरीको निकास भएकोले गाउँको नाउँ पनि निकाश गाउँ राखिएको छ । यस गाउँमा राई, मगर, बाहुन, क्षेत्रीलगायत अन्य समुदायहरू पनि बसोबास गर्छन् । यसर्थ यस क्षेत्रमा पनि मिश्रित जनसंख्या भएका बहुभाषिक र बहुसांस्कृतिक जनजीवनका झलकहरू देखिन्छन् ।

पोखरीको किम्बदन्ती र जनविश्वास :

विशेषगरी यो पोखरी परापूर्वकालदेखि नै परम्परागत संस्कार र संस्कृति बोकेको एउटा धार्मिक पोखरीको रूपमा मानिन्छ । यसलाई हरेक समुदायले आआफ्नो कुल देउताको रूपमा पनि सम्झेका हुन्थे । सोही ठाउँको एउटा किम्बदन्ती निकै चाखलाग्दो छ । जनश्रुतिअनुसार रौतापोखरी र बराह पोखरी उहिले सत्य युगतिर सौता–सौता थिए अरे ! दुवै झगडा नहोस् भनी दुधकोशी वारि पारि भएर बसेका थिए रे ! तर रहँदै–बस्दै जाँदा एकपल्ट दुवैमा आपसमा झगडा चलेछ । त्यसबेला रौता पोखरी डाँडोमा भएता पनि यसमा माछाहरू धेरै थिए रे ! यसैगरी बराहपोखरी निकै तल बेँसी खोँचमा भएर पनि पोखरीभरि भ्यागुतै–भ्यागुता मात्र थिए रे ! पहिले रिसाएको झोँकमा दुवै सौताले आफ्नो छेउछाउको ढुङ्गा मुढा आदि सबै टिप्दै एकअर्कामा प्रहार गरागर गर्दा सकिएछ । तैपनि उनीहरूको रिस मरेन छ । त्यसपछि आफ्नो पोखरीभित्र भएका बस्तुहरूले एकअर्काप्रति प्रहार गरागर गर्न थालेछन् । पोखरीभित्र रहेका हरेक बस्तुहरूले सौता–सौतामा हानाहान गरेर सबै सकिँदा पनि रिस मरेनछ । अनि अन्त्यमा रौतापोखरीले आफूसँग रहेको सबै माटाहरू बराहतिर फाल्न थालेछिन् अनि बराहपोखरीले पनि आफूसँग भएका सबै भ्यागुतोहरू रौता पोखरीतिर फाल्न थालेछिन । यसरी फालाफाल गर्दा रौतामा माछा रित्तियो भने बराहमा भ्यागुतोहरू रित्तिए छन् । जब आफूसँग भएका मौलिक स्रोतहरू सकिए, अनिमात्र दुवैको रिस मत्थर पार्दै थाकेर बसेछन् रे ! यसर्थ अहिले पनि रौता पोखरीमा माछाहरू नदेखिनु तर भ्यागुतोहरू खुब हुनु साथै बराहपोखरीमा भ्यागुतोहरू नदेखिनु तर हजारौं माछाहरू देखिनु सोही सौता–सौताको झगडाको परिणाम हो भन्ने कुरालाई स्थानीय बुढापाका तथा धामीझाँक्रीहरू सही ठोक्छन् । तर यसमा वैज्ञानिक तथ्य भने पाउन सकिन्नँ ।

सांस्कृतिक महत्व :

यस पोखरीलाई स्थानीय धामीझाँक्रीहरूले आफ्नो आराध्य देउताको रूपमा ‘रौता माई’ भन्दै पूजा वा धुप–धुवाँर गरिने चलन थियो । उनीहरूले कुनै घरमा धामी बस्नु प¥यो वा कसैलाई झारफुक फु गरी उपचार गर्नु प¥यो भने पहिले यही पोखरीको नाम पुकार्ने गर्थे । यो पोखरीको उत्तर किनारामा एउटा स्थायी मन्दिर छ । यसलाई मगर समुदायको पुजारीले बिहानदेखि साँझसम्म खोल्ने गर्छन् । यही समय पारेर दैनिकरूपमा श्रद्धालुजनहरू पनि आएर पूजाअर्चना गर्ने गर्छन् । यसको अतिरिक्तः हरेक वर्ष जनै पूर्णिमा, गुरुपूर्णिमा, माघे संक्रान्ति, साउने संक्रान्ति, बाला चतुर्दशी आदि विशेष चाडका दिनहरूमा पूजा तथा मेला लाग्ने गर्छ । यस पोखरीको छेउमा पुजारी बस्ने एक मन्दिरबाहेक अन्य घरहरू बनिएको थिएन (सर्भेक्षणताका इंसं २००१) ।

पर्यावरणीय अवस्था र जैविक विविधता :

यो क्षेत्र समशितोष्ण जलवायु क्षेत्रमा पर्दछ । यस पोखरीको उँभोतिर अर्थात् दक्षिण–पश्चिमतिर खुल्ला रौता भञ्ज्याङ पर्दछ । त्यस भञ्ज्याङमा पनि कुनै बसोवास छैन । गाईघाट जलजलेबाट आउने मूल बाटो यही भञ्ज्याङ काटेर मात्र उक्त पोखरीसम्म जान सकिन्छ । वन्यजन्तुहरू पनि लेकाली वातावरण पाइने भएकाले यिनीहरूको फैलावट निकै पातलो छ । यस पोखरीको वरिपरि कटुस मिश्रित पातलो जंगल पाइन्टन् । कटुस घारी (कास्टानोप्सिस) झ्याम्म परेको भए पनि जाडो ऋतुमा सबै पात झर्छ अनि वर्षाको भलले बगाएर लगी पोखरी भर्दछ । यस्ता पत्करहरू पोखरीको पानीमा डुब्दा कुहेर कालो पत्करे दलदल बनिन्छ । यसर्थ पोखरीको दक्षिणी किनारा कालो दलदलले भरिएको छ साथै पानीको रङ पनि कालो देखिन्छ । पोखरीको पानी धमिलिँदा यसको पारदर्शिता पनि घट्छ । यस्तो अवस्थामा पोखरीको पानीबाट सूर्यको प्रकाश छिरेर तल पिँधसम्म नपुग्दा जलीय वनस्पतिको प्रकाश संश्लेषण प्रक्रिया अवरूद्ध हुन्छ । यस्तो स्थितिमा जलीय जीवजन्तुहरू अक्सिजनको कमीले बाँच्न सक्दैनन् । यसर्थ पानीभित्र लेउ, झ्याउ, झारपात आदि केही देखिन्न तर कहाँकहाँ साना जातिको जल कछु तथा कमलहरू भने देख्न सकिन्छ । यस पोखरीको उत्तरतिरको किनारा भने वृक्षविहीन खुल्ला छ । यस किनारातर्फ सानो चौर छ जहाँ तीर्थालुहरू साथै दृश्यावलोकनको लागि आउने पर्यटकहरू सुनकोशीको सपाछ बेसी तथा खोटाङ जिल्लाको हलेसीडाँडो, दिक्तेलको मुढे डाँडो हुँदै टेम्के डाँडोदेखि देन्ताङ डाँडोसम्मको भूस्वरुपको दृश्यावलोकन गर्न सक्छन् ।

यस पोखरीमा जन्तुहरू पनि प्रशस्त देखिँदैन । पोखरीको पारिस्थितिक प्रणाली नै दलदल बनिसकेकाले जीवजन्तुहरू बस्न सक्ने वातावरण हुँदैन । केही अमेरुडण्डीय प्राणीहरूजस्तै पोखरीको पिँधमा भस्ने म्याक्रो–इन्भर्टिब्रेटहरु, मसिना तैरिने जन्तुहरु, किरा फट्यांग्राका लाभ्रेहरू, पानी उपियाँ, पानी खबटे कीरो, पानी उडुस आदि मात्र देखिन्छन् । माथि उल्लेखित किम्बदन्तिलाई वैज्ञानिकरूपमा मान्न चाहिँ सकिँदैन तर रौतामा माटाको अभाव र बराहमा भ्यागुतोको कम उपस्थिति हुने कारण खोज्न वैज्ञानिकरूपमा प्रयास गर्न सकिन्छ । यी दुई पोखरीहरूको भूधरातल फरक पर्नु साथै उचाइअनुसार जलवायु पनि परिवर्तन हुँदै जानु आदि कारणले पनि यस्तो परिणाम देखिएको हुन सक्छ । माछामा गडेलासम्म पाउन सकिन्छ तर यस अनुसन्धानकर्ताको अध्ययनकालमा कुनै प्रजाति देख्न सकिएन । यसको विपरीत, त्यस पोखरीमा भ्यागुतोको तीन–चार प्रजाति पाइएको थियो । ती प्रजातिहरूमा अत्यधिक संख्या फौजी आहाले भ्यागुतो (युफ्लिक्टस साइनोफ्लिक्टस) पाइयो भने अन्यमा सिहाड्रे किथ्रे भ्यागुतो (फेजरभेरिया सिहाड्रेन्सिस), नेपाले किथ्रे भ्यागुतो (फेजरभेरिया नेपालेन्सिस), आदि प्रजातिहरू पोखरीमा भेटिएका थिए । सरिसृपमध्ये यसको किनारातिर चंखे पानी साप (एम्फिस्मा प्लाटिसेप), चपरे साप (ट्राकिस्कियम फुस्कम) र पत्करे चन्दने साप (मोक भाइपर) आदिको तथ्यांक संकलन गरिएको थियो । उडुवा पंखीहरूमा ऋतुअनुसार पानी हाँस तथा बकुलाहरू वर्षायाममा देखिने साथै कहिलेकाहीँ कराङकुरुङ पनि देखिने कुरा रेकर्ड गरिएको थियो । यसैगरी स्तनधारी वर्गमा यसमै स्थायीरूपमा बस्ने कुनै प्रजाति पाउन सकिएको थिएन ।

पोखरीको जोखिमपूर्ण पारिस्थितिक प्रणाली :

कुनै पनि सन्तुलित पारिस्थितिक प्रणालीभित्र उत्पादक, उपभोक्ता र विच्छेदक वा डिकम्पोजरबीचको पारस्परिक अन्तरसम्बन्ध रहेको हुन्छ । यस अन्तर सम्बन्धलाई खाद्यश्रृंखलाहरूले शक्ति वितरण गर्न एउटा मौलिक खाद्य सञ्जाल बनाउँछ । यिनै शक्ति उत्पादक र उपभोक्ताहरू बीचको सन्तुलित शक्ति वितरण प्रक्रियालाई नै स्वच्छ वातावरण मानिन्छ । पर्यावरणीय दृष्टिले यो पोखरी उत्पादकभन्दा उपभोक्ताको संख्या अति बढी भई खाद्य संकट आइपर्ने अनि मृत उपभोक्ताहरूलाई डिकम्पोजरले कुहाउने दर बढेकाले असन्तुलित भइरहेको देखिन्छ । यस्तो अवस्थामा हरियो तैरने जीवहरू (फाइटोप्लांकटन) कम भएर जान्छ साथै पानीको धमिलोपना बढ्दै जाने भएकाले प्रकाश पनि तलसम्म छिरेर जान सक्दैन । यसो हुँदा प्रकाश संस्लेषणको प्रक्रिया अवरूद्ध हुन्छ र घोलित अक्सिजनको मात्रा घटेर गई प्रदूषण सुरु हुन्छ । यस्तो प्रदूषणले गर्दा पोखरीको पिँधमा बस्ने जीवहरूलाई सास फेर्न गाह्रो परी मर्न सक्छन् । बिस्तारी यस्तो पारिस्थितिक प्रणालीमा खाद्य साङ्लो टुटेर गई प्राणीविहीन पोखरीको रूपमा पुग्दछ । यो अवस्था भनेको पोखरीको जोखिमपूर्ण अवस्था हो । यो अवस्था धेरै दिनसम्म रहे यसबाट दलदल हुँदै घाँसे चौरमा पारिस्थितिक प्रणाली नै प्रतिस्थापित भएर जान्छ । यसरी अनियन्त्रित रूपमा प्रदूषण दर बढ्दै गएमा कुनै दिन पोखरीको अस्तित्व नै लोप हुने गर्छ ।

तसर्थ रौतापोखरीको यस्तो अवस्थाले प्रष्टसँग पर्यावरणीय जोखिम अवस्थातिर उन्मुख भएको देखाउँछ ।

संरक्षणका उपायहरू :

यसलाई जोगाउन स्थानीय सरकारी निकाय तथा गैरसरकारी सरोकारवाला संस्थाहरूको ध्यान त्यस पोखरीतिर खिचिनु पर्छ । यतिमात्र होइन, यस पोखरीका आसपासका गाउँले जनताहरू पनि सचेत हुँदै पर्यावरणीय तथा सांस्कृतिक महत्व राख्ने यो पोखरीलाई संरक्षण र व्यवस्थापन गर्न अग्रसर हुन पर्छ । जोखिमबाट बचाउन ढिलो गर्न कदापि हुँदैन । स्थानीय युवाहरू, बुद्धिजीवीहरू, कुल देउताको रूपमा मान्ने पुजारी, धामी, झाँक्रीहरू आदि सबैको यस पोखरीलाई लोप हुनबाट समयमै बचाउने कर्तव्य हो । आफ्नो क्षेत्रको पर्यावरण भनेको सबैको साझा घर हो । साझा घरलाई संरक्षण गर्न आजैदेखि कम्मर कसेर लागौं !

Loading...