Rumpum

Rumpum Advertisement

नेपालमा पनि आयुर्वेदिक औषधिको परीक्षण सुरु हुँदै

नेपालमा पनि आयुर्वेदिक औषधिको परीक्षण सुरु हुँदै

विराटनगर, २२ भदौ । नेपालमा कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि आयुर्वेदिक औषधिको परीक्षण अघि बढाइएको छ ।

आयुर्वेदिक औषधिको परीक्षण अनुमति पाइसकेकाले प्रदेश ५ का करिब एक सयजनामा परीक्षण गरिने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् । सामान्य लक्षण देखिएका संक्रमितलाई जेठीमधु र त्रिकटु (मरीच, पिप्ली र सुकेको अदुवा बराबर मात्रामा मिलाएर बनाइएको) को मिश्रणबाट तयार गरिएको आयुर्वेदिक औषधि बिरामीलाई खाना खानुअघि खुवाइने छ ।

औषधिको सेवनपछि बिरामीमा देखिने लक्षण घट्ने र अस्पताल बसाइको समय तथा रगतमा हुने परिवर्तनको जाँच गरिनेछ । उक्त आयुर्वेदिक औषधिबारे यसअघि चीन र भारतलगायतका देशमा अध्ययन र अनुसन्धान भएको हुनाले साइड इफेक्ट नभएको बताइएको छ । तर, डा. ज्ञवालीका अनुसार औषधि गम्भीर समस्या देखिएकाहरूलाई दिइने छैन ।

सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रदेश ५ को समन्वयमा त्यहाँ भएका आयुर्वेदिक केन्द्रका डाक्टर तथा काठमाडौंबाट गएको अनुसन्धान टिमको संलग्नतामा केही दिनमै बिरामीहरूलाई औषधि दिने योजना रहेको जनाइएको छ ।