Rumpum

Rumpum Advertisement

लिग चरणको अन्तिम खेलमा सन्दीपको विकेट, जमैका पराजित

लिग चरणको अन्तिम खेलमा सन्दीपको विकेट, जमैका पराजित

एजेन्सी, २२ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टोली जमैका तलावाज पराजित भएको छ ।

आइतबार लिग चरणको अन्तिम खेल खेलेको जमैका सेन्ट लुसिया जौक्ससँग ११ रनले स्तब्ध भएको हो ।

ब्रायन लारा क्रिकेट स्टेडियममा जौक्सले दिएको १४६ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

ग्लेन फिलिप्सले ४९ रन बनाउँदा जेमेन ब्ल्याकवूड र निकोलास किटोनले समान २५–२५ रन जोडे ।

बलिङतर्फ जाहिन खान र जेवलिन ग्लेनले समान ३–३ विकेट लिँदा केसरिक विलियम्सले एक विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जौक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । उसका लागि नजीबुल्लाह जादरानले ३५ रन बनाउँदा रहकेस कार्नवाल र रोस्टोन चेसले समान ३२–३२ रन जोडे ।

जमैकाका मुजीव उर रहमानले २ विकेट लिँदा सन्दीपले १ विकेट लिए । यससँगै सन्दीपले समूह चरणका १० खेलबाट १२ विकेट लिएका छन् ।

जमैकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ । अब उसले पहिलो सेमिफाइनलमा मंगलबार ट्रिबागो नाइट राइडर्ससँग खेल्नेछ ।