देश विकासमा लाग्न कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

विराटनगर, २२ भदौ । देशको विकासमा लाग्न निजामती कर्मचारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।

निजामती सेवा दिवसका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले
देश विकाससँगै जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका हुन् । स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ लाग्दै आफ्नो दक्षता अभिवृद्धि गरी देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन ओलीले आग्रह गरे।

विसं २०१३ मा तत्कालीन टङ्कप्रसाद आचार्यको सरकारले नेपालमा पहिलो पल्ट आजकै दिन निजामती सेवा ऐन ल्याएको थियो। कर्मचारीले सुशासन, राष्ट्रिय एकता र विकासको बाटो अग्रसर हुनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।

सन्देशमा उनले कर्मचारीमा उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्नेसमेत कामना गरेका छन्। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९को विषम परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिएका राष्ट्रसेवकप्रति उनले सम्मानसमेत प्रकट गरेका छन्।

“तानाशाही शासनविरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नुपरेको पीडा र गर्नुपरेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि गरेका सङ्घर्ष सकारात्मक र प्रशंसायोग्य नै छन्”, उनले सन्देशमा भनेका छन्, “ तपाईंहरूले सहभागिता जनाएका र योगदान पु¥याएका आन्दोलनहरू सफल भएका छन् र तपाईंहरूका मागहरू पनि पूरा भएका छन् । ”

प्रधानमन्त्रीले लोकतान्त्रिक शासन व्यवस्थामा कर्मचारीको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक भएको सन्देशमा उल्लेख गरेका छन् । लोकतन्त्रका लाभको वितरण नागरिकसम्म पुर्‍याई जनताको सेवा गर्न तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुने उनको ठम्याइ छ ।

निजामती कर्मचारीमाथि लाग्ने गरेका तमाम आरोपलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात् गरी उच्च नैतिक आचरण र व्यवहारमार्फत सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीले आफूलाई समयानुकूल ढङ्गले रूपान्तरण गर्नु जरुरी रहेकामा उनले जोड दिए। निजामती सेवाका संरचनालाई सङ्घीय शासन व्यवस्थानुरूप रूपान्तरण गरी तीनै तहबीच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।

कोभिड–१९ लगायत समयसमयमा आउने अकल्पनीय बाढी, पहिरो, आगलागीजस्ता विपद्का अवस्थामा कर्मचारीले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम प्रशंसनीय रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएकोे छ । मुलुकभर सोमबार निजामती सेवा दिवस मनाइँदै छ ।

Loading...