रामोसको दुई गोल, स्पेनको शानदार जित

एजेन्सी, २२ भदौ । यूईएफए नेशन्स लिगमा स्पेनले शानदार जित निकालेको छ । आइतबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले युक्रेनमाथि ४–० गोलको शानदार जित निकालेको हो ।

स्पेनको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन सर्जियो रामोसले दुई गोल गरे भने अन्सु फाती र फरान टोरेसले समान एक–एक गोल गरे ।

स्पेनले खेलको तेस्रो मिनेटमा पेनाल्टीको मौका पाएको थियो, जसमा रामोसले गोल गरे । यस्तै खेलको २९औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसको तीन मिनेट नबित्दै फातीले गोल गर्दै पहिलो हाफभरि स्पेनलाई ३–० गोलको अग्रता दिलाए ।

यस गोलसँगै फातीले ९५ वर्ष पुरानो कीर्तिमान तोड्दै स्पेनका लागि सबैभन्दा कम उमेरमा सिनियर राष्ट्रिय टोलीबाट गोल गर्ने रेकर्ड बनाएका छन् ।

८४औं मिनेटमा टोरेसले गोल गरेपछि स्पेनले युक्रेनलाई ४–० गोलले हरायो ।

यससँगै स्पेनले नेशन्स लिगमा पहिलो जित निकाल्यो । यसअघि उसले जर्मनीसँग बराबरी खेलेको थियो । समूह ‘डी’ मा रहेको स्पेनले ४ अंकका साथ शीर्ष स्थान बनायो ।

आइतबार राति नै भएको अर्को खेलमा जर्मनी र स्वीजरल्याण्डले १–१ गोलको बराबरी खेले ।

Loading...