काठमाडौंका नाकामा सेना परिचालनको सुझाव

विराटनगर, २२ भदौ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न उपत्यकामा दसैंसम्म निषेधाज्ञा कायम गरेर नाकामा सेना परिचालन गर्नुपर्ने राय दिएका हुन् ।

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने सुझाव दिए । विभिन्न बहानामा मानिस उपत्यका भित्रने क्रम नरोकिएको र चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई भित्रायाउनु परिरहेको भन्दै उनले नाका नै ठप्प पार्न नसकिएको बताए ।

बैठकमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरूबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले चाडपर्वको समयमा मानिसको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताए । आजको राजधानी दैनिकमा समाचार छ

Loading...