थानकोट–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु

विराटनगर, २२ भदौ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ ।

शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४ गते उक्त सुरुङमार्गको शिलान्यास गरेका थिए ।

विभिन्न समस्या र अवरोधलाई समाधान गर्दै मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु भएको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए । मुआब्जा विवाद र विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनाले अनुमति नदिँदा निर्माण सुरु हुन सकेको थिएन ।

करिब २.७ किलोमिटर लम्बाइको सुरुङमार्गको चौडाइ करिब १२ मिटर र उचाइ आठ मिटर हुनेछ । यो सुरुङमार्ग जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब १६ अर्ब सहुलियत ऋण र नेपाल सरकारले आन्तरिक स्रोतबाट छ अर्ब बेहोरेर निर्माण थालिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...