कोरोना कहरमा ८५ गर्भवतीको मृत्यु

विराटनगर, २२ भदौ । लकडाउन सुरु भएयता पाँच महिनामा ८५ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाएका छन्।

सरकारले प्रजनन स्वास्थ्यलाई सुरक्षित मातृत्व र महिला अधिकारका रूपमा लिए पनि उपचार अभावमा उनीहरूले मृत्युवरण गर्नुपरेको हो। यीमध्ये झन्डै १८ प्रतिशतले अस्पतालै टेक्न पाएनन्।

‘गर्भावस्थाको जटिलता र रक्तस्राव नै मुख्य कारण हुन्’, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. पुण्या पौडेलले भनिन्, ‘त्यसबाहेक संक्रमणको कारणले पनि ज्यान गुमाउँछन्। अन्य शारीरिक समस्या वा दुर्घटनाका कारण पनि ज्यान गुमाएको पाइएको छ।’

कतिपय स्वास्थ्य संस्थामा रक्तस्राव रोक्न दिइने अक्सिटोसिन औषधिको अभाव छ। कतिपयमा उचित तापक्रममा अक्सिटोसिन नराख्ने गरेको चिकित्सक बताउँछन्। ‘अक्सिटोसिन भए पनि तापक्रम नमिलेका कारण काम नगरेको पनि हुन सक्छ’, एक स्वास्थ्यकर्मीले भने।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार ८५ मध्ये ७३ जनाको मात्र मृत्युको कारण खुलेको छ। महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले १२ जनाको कारण नखुलेको जानकारी दिए। ‘टाढाबाट अस्पताल पुग्न समस्या भयो। दुर्गम हिमाली र पहाडी जिल्लाबाट समयमै अस्पताल पुग्न नसक्दा ज्यान गएको पाइन्छ’, निर्देशक डा. तिंकरीले भने।

७३ मध्ये ९ जनामा कोरोना भाइरस संक्रमणको लक्षण देखिएको थियो। आजको अन्नपूर्ण पोस्टमा समाचार छ

Loading...