सोझालाई डुबाउने सेयर बजार

विराटनगर, २२ भदौ । आइतबार सेयरको प्रभातकालीन कारोबार (प्रिओपन सेसन)मा नेप्से परिसूचक एकैपटक ४२ अंक बढ्यो।

नियमित कारोबार सुरु भएसँगै ओरालो लाग्न थालेको बजार ५८ अंकसम्म घट्यो। यसले बिहान हतारिएर सेयर किन्न खोज्नै धेरै लगानीकर्तालाई ठूलो क्षति पुगेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गत शुक्रबार राजीनामा दिएपछि सामाजिक सञ्जालमा सेयर बजारले ‘नयाँ ऐतिहासिक उचाइ चुम्ने’ हल्ला पिटिएको थियो। कार्यकालको सुरुदेखि नै ‘सेयर बजार विरोधी’को आरोप खेपिरहेका खतिवडाको बहिर्गमनपछिको सेयर बजारलाई धेरैले चासोसाथ प्रतीक्षा गरेका थिए। तर, अधिकांशको अनुमानविपरीत बजार ओरालो लागेपछि धेरैलाई यो घटनाले बिलखबन्दमा पार्‍यो।

ठूला राजनीतिक, आर्थिक एवम् प्राकृतिक घटनाहरूले सेयर बजारलाई अस्वाभाविक प्रभाव नपारोस् भनेर नेप्सेमा सुरुदेखि नै ‘प्रिओपन सेसन’ प्रयोगमा ल्याइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन्।

धेरै साधारण लगानीकर्ताको अनुमानविपरीत आइतबार बजार नबढ्नुमा केही ठूला लगानीकर्ताको चतुर्‍याइँले काम गरेको बजार विश्लेषकहरू बताउँछन्।

पछिल्लो एक महिनामा नेप्से १३५ अंक बढेको छ। अढाइ महिनाअघि नेप्से ११८० अंकतिर थियो। त्यसयता ३३० अंकको उच्च बजार बढ्दा ठूला लगानीकर्ताले ठूलो पुँजीगत लाभ आर्जन गरिसकेका थिए।

सेयर विश्लेषक प्रकाश तिवारी भने आम लगानीकर्ताको हित संरक्षण गर्न नेपाल धितोपत्र बोर्ड र नेप्सेले यस्ता अवैध कारोबारको छानबिन गरेर कारबाही चलाउनमा हात कमाउनु नहुने बताउँछन्। सेयर बजारका यस्ता अवाञ्छित गतिविधि नरोक्ने हो भने धनी र गरिबबीचको खाडल अझै गहिरिँदै जाने उनको बुझाइ छ।

विभिन्न बहानामा बजार उचालेर सोझासाझा सर्वसाधारणको सम्पत्ति वैधानिक बाटोबाटै धनीमानीको खल्तीमा पुगेको विज्ञहरू बताउँछन्। आजको अन्नपूर्ण पोस्टमा समाचार छ

Loading...