प्रदेश १ मा चार हजार नाघे संक्रमित, ४२ जनाको मृत्यु

एक हजार ८ सय संक्रमणमुक्त

विराटनगर, २१ भदौ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । आइतबार थप १४३ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या चार हजार नाघेको हो ।

आइतबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ संक्रमित छन् । संक्रमितमध्ये १ हजार ७७ जना महिला छन् ।

आइतबारसम्म संक्रमणका कारण ४२ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये १२ जना प्रदेश २ का बासिन्दा हुन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८४३ छ । २ हजार १३८ कोरोना संक्रमित उपचार गराइरहेका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित मोरङ जिल्लामा छन् । मोरङमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७७ छ । तीमध्ये ७६८ जना संक्रमणमुक्त भएका छन् ।

सुनसरीमा कोरोना संक्रमितको संख्या ९९० छ । तीमध्ये २९४ जना संक्रमणमुक्त भएका छन् । झापामा ६७१ जना कोरोना संक्रमित छन् । तीमध्ये ३९० जना संक्रमणमुक्त भएका छन । उदयपुरमा ११७ जना कोरोना संक्रमित छन् । तीमध्ये ११३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ को पहाडी जिल्ला ताप्लेजुङमा १२, पाँचथरमा १७, इलाममा ८८, धनकुटामा ४२, तेह्रथुममा २८, संखुवासभामा ४०, खोटाङमा २२, भोजपुरमा १३, सोलुखुम्बुमा ८, ओखलढुंगामा २२ जना कोरोना संक्रमित छन् । पहाडी जिल्लामा संक्रमण देखिएकामध्ये अधिकांश संक्रमणमुक्त भइसकेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म ९८ हजार ४८८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Loading...