१० लाख दाइजो माग्दै छोरीको हत्या गरेको आरोप

विराटनगर, २१ भदौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ की २२ वर्षीय रिंकीकुमारी मेहताको हत्या गरिएको आरोप माइती पक्षले लगाएका छन् ।

मागेजति दाइजो दिन नसक्दा भगाएर बिहे गरेको दुई दिनमै छोरीको हत्या गरिएको उनीहरूको आरोप छ । माइती पक्षले आफूहरूसँग १० लाख रुपैयाँ दाइजोस्वरुप मागेको पनि बताएका छन् ।

विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर दोषीलाई कारबाहीको माग गर्दै रिंकीका माइती पक्ष ।

विराटनगरस्थित इडेनवर्ग कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत रिंकी १ भदौमा गढी गाउँपालिका–४ स्थित छिटाहामा रहेको दाजु जयप्रकाश मेहताको घर गएकी थिइन् ।

उनलाई अनुहारमा रहेको समस्याको उपचार गर्न त्यही दिन कोशी अस्पताल विराटनगर ल्याइएको थियो । ३ भदौमा दाजुकोबाट घर आउँदै गरेकी छोरी रातिसम्म पनि आइनपुगेपछि परिवारले खोजी थालेका थिए ।

त्यहीँ दिन देवानगञ्ज–४ का रमेशकुमार मेहताले रिंकीलाई अपहरण शैलीमा भगाएर लगेको बुबा जयकिशोर महतोको भनाइ छ । उनले भगाएर लगेको २४ घण्टा पनि बित्न नपाउँदै १० लाख रुपैयाँ मागेको र दिन नसक्दा हत्या गरेको आरोप लगाए ।

पूर्वसभासद् मुगालाल मेहताले राति फोन गरेर छोरी केटासँग भागेको सुनाएको जयकिशोरले बताए । त्यसपछि मुगालालको घर पुगेको र छोरीलाई भने आफूले भेट्न नपाएको उनको गुनासो छ ।

‘छोरी केटासँग गएकी रहिछ । त्यहीँबाट बिहे गरिदिन सबैले दबाब दिए,’ उनले आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै भने, ‘तर १० लाख रुपैयाँ दाइजो चाहिन्छ भने । तर मैले पैसा दिन पनि सकिनँ र छोरीलाई भेट्न पनि पाइनँ ।’

पूर्वसभासद् समेतले भगाएर लगेएकी छोरीलाई १० लाख दाइजो दिएर बिहे गर्न दबाब दिएपछि नसक्ने भएकाले आफू फर्किएर घर आएको जयकिशोरको भनाइ छ । आफू घर फर्किएपछि छोरीलाई रमेशको जिम्मा लगाएर पठाएको र त्यसको दुई दिन पनि बित्न नपाउँदै हत्या गरिएको उनको आरोप छ ।

उनका अनुसार ५ भदौ बिहान ३ बजेतिर मुगालाले नै फोन गरेर छोरीले पासो लगाइ झुन्डिएर मरिन् भन्ने खबर दिएका थिए । आफूहरू पुग्दा घटना शंकास्पद लागेको जयकिशोरले सुनाए । उनले सुतेको कोठाको बरण्डामा झुण्डिएको शव हेर्दा आफैं आत्महत्या गरेको नभइकन हत्या गरेर झुन्ड्याइएको जस्तो देखेको बताए ।

‘शरीरमा लगाएका कुनै गहना थिएनन्,’ उनले भने, ‘स्थानीय र घटनास्थलमा रहेका प्रहरीलेसमेत हत्या गरेर झुण्ड्याइएको हुनसक्ने अड्कल काटे ।’ यस विषयमा बुझ्न खोज्दा पूर्वसभासद् मुगालालसँग भने सम्पर्क हुन सकेन ।

देवानगञ्ज–३ का वडा अध्यक्ष अनिल भगतले घटना सुनेर आफूहरू पनि हेर्न गएको बताए । हेर्दा मृत्यु शंकास्पदनै देखिने उनको भनाइ छ । छोरीको हत्या भएको भन्दै जयकिशोरले घटनामा संलग्नलाई कारबाहीको माग राखेर प्रहरीमा जाहेरी दिँदा पनि लिन नमानेपछि हुलाकमार्फत जाहेरी पठाएको बताए ।

छोरी रिंकीलाई लैजाने रमेश र उनका दाजु उमेशलाई प्रहरीले दुई दिनसम्म हिरासतमा राखेर छोडेको छ । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले घटनामा आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जानकारी दिए ।

घटना अनुसन्धानकै क्रममा रहेको भन्दै उनले शवको पोस्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने जनाए ।

Loading...