विराट मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, २१ भदौ । विराट मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बुढीगंगा गाउँपालिका– ४ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कलेजका प्रशासन प्रमुख सुधिरसिंह राठोरका अनुसार मृतक पुरुष १९ भदौमा अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको आज दिउँसो साढे ३ बजे मृत्यु भएको हाे । मृत्यु पछि कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेहको समस्या थियो । सिकिस्त अवस्थामा भर्ना भएका मृतक पुरुषमा निमोनियाको पनि समस्या देखिएको राठोरले बताए ।

‘उपचारका क्रममा आज दिउँसो मृत्यु भयो,’ उनले भने, ‘साँझ कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको छ ।’

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

Loading...