विराटनगरका डाक्टर साह मृत्यु प्रकरण : गुडगाँव थानामा श्रीमती र सालीविरुद्ध एफआईआर दर्ता

विराटनगर, २१ भदौ । भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा कार्यरत रोबोटिक कलेजो प्रत्यारोपणका डा. सुजितकुमार साहको मृत्यु प्रकरणको सत्यतथ्य छानबिनका लागि पीडित परिवारले प्रहरीमा उजुरी दर्ता गराएका छन् ।

डा. साहको मृत्यु रहस्यमय भएको जनाउँदै विराटनगरबाट गएका बुबा नरेन्द्रप्रसाद साहले गुडगाँव जिल्लाको गुडगाँव सादर प्रहरी थानामा प्रथम सूचना रिपोर्ट (एफआईआर) दर्ता गराएका हुन् ।

विराटनगरस्थित डा. साहका दाइ रोबिन साहका अनुसार बिहीबार (भदौं १८ गते) दिउँसो पौने ३ बजे मृतककी श्रीमती लक्ष्मीकुमारी साख्यान, लक्ष्मीकी बहिनीद्वय सन्तोषकुमारी र सोनु कुमारीविरुद्ध एफआईआर दर्ता गरिएको हो ।

एफआईआर दर्ताका क्रममा मृतककी श्रीमति लक्ष्मीले अलग बस्नका लागि डिभोर्सको दबाब दिइरहेको खुलेको छ । दर्ता गरिएको पत्रमा अगष्ट महिनाबाट श्रीमती लक्ष्मीले अलग हुनका लागि अत्याधिक दबाब, धम्की दिएको बताइएको छ ।

जसका लागि डा. साह सहमत नभएको लेखिएको छ । छोरीलाई समेत परिवारबाट टाढा लैजाने चेतावनीसहित लक्ष्मी र दुई बहिनीले सुजितमाथि बारम्बार दबाब दिएका थिए ।

उनीहरूले सुजितलाई डिभोर्स नदिएको खण्डमा शारिरीक दुर्व्यवहारको झुठो मुद्धा लगाएर जेलसम्म पुराउने धम्की दिएका थिए । बुबा नरेन्द्रद्वारा दर्ता गराइएको रिपोर्टमा लक्ष्मीको बारम्बार डिभोर्स मागका कारण आफूहरूलाई जानकारी नभएको जनाइएको छ ।

साहका दाइ रोबिनका अनुसार यसबीच प्रहरीले एकपटक श्रीमती लक्ष्मीलाई थानामा बोलाएर सोधपुछ गरिसकेको छ ।

गुडगाँव प्रहरीका अनुसार घटना भएको बिहान करिब साढे ३ बजे एचइडब्लुओ अपार्टमेन्ट सोसाइटी सेक्टर ४७ गुरुग्राममा डा. साहले आत्महत्या गर्न लागेको सुरुआती खबर पाएका थिए ।

यद्दपि, थानाबाट तीन जना प्रहरी घटनास्थल पुग्दा डा. साहको मृत शरीर जमिनमा रहेको थियो । टाउकोबाट रक्तस्राव भइहरेको अवस्थामा मेद्धान्त अस्पताल लैजाँदा चिकित्सकले डा. साहको मृत्यु भएको बताएका थिए ।

घटनापछि प्रहरी अनुसन्धानका क्रममा सोही दिन प्रहरीले अपार्टमेन्टको छानबिन गरेको थियो । सो क्रममा अपार्टमेन्टको मुख्यद्वारमा भित्रपट्टिबाट ताला लागेको र प्रहरीले झ्याल फोड्नु परेको जनाएको छ ।

१० वर्षअघि डा. साह र लक्ष्मीबीच विराटनगरमा प्रेम विवाह भएको थियो । विवाहको ८ वर्षपछि सन् २०१८ मा पेशाले चिकित्सक श्रीमती लक्ष्मी ६ वर्षीया छोरीलाई लिएर पश्चिमबंगालको दुर्गापुरीमा बसोबास गर्दै आएकी थिइन् ।

तथापि, डा. साह बिदाको अवसरमा दुर्गापुरी जाने भेट्ने र सम्पर्कमै रहेको बुबा नरेन्द्रले रिपोर्टमा जनाएका छन् ।

पीडित परिवारले घटनाको सत्यतथ्य छानबिनका लागि विराटनगरस्थित इन्सेक विराटनगर, विराटनगर महानगरपालिका, मानव अधिकार सञ्जाललगायतमा जानकारी गराएका छन् ।

Loading...