वीर अब कोभिड अस्पताल

काठमाडाैं, २१ भदाै । सरकारले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार स्वास्थ्य आपतकालीन कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

नियमित ब्रिफिङका क्रममा उनले वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिए ।

कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने छ ।

उपत्यकामा कोरोना अस्पतालका रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीका अस्पताल छन् । ती अस्पतालमा कोभिड–१९ बाहेकका अन्य बिरामीको उपचार गरिँदैन ।

यस्तै विभिन्न शिक्षण संस्थामा स्वास्थ्यका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सम्झौता गरी स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ ।

ती स्वयंसेवकलाई कोभिड–१९ फैलिएको ठाउँमा गई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न परिचालन गरिने मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । रासस

Loading...