रोनाल्डोले स्वीडेनसँगको खेल पनि गुमाउन सक्ने

एजेन्सी, २१ भदौ । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले यूईएफए नेशन्स लिगअन्तर्गत स्वीडेनसँगको खेल पनि गुमाउने सम्भावना रहेको बताइएको छ ।

साविक विजेता पोर्चुगलले क्रोएशियाविरुद्ध जित निकाल्दा रोनाल्डोले दर्शकदीर्घामा बसेर खेल हेरेका थिए । शनिबार राति पोर्चुगलले क्रोएशियामाथि ४–१ गोलको शानदार जित निकालेको थियो ।

पोचुगलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन जाओ क्यान्सेलो, जाओ फेलिक्स, डिएगो कोस्टा र आन्द्रे सिल्भाले समान एक–एक गोल गरे । क्रोएशियाका ब्रुनो पेटकोभिकले सान्त्वना गोल फर्काए ।

युभेन्टसका स्टार रोनाल्डो खुट्टाको समस्याका कारण सो खेलमा दर्शकदीर्घामा थिए । दाहिने खुट्टाको समस्याका कारण उनले सो खेल गुमाएका हुन् ।

केही दिनअघि पोर्चुगल फुटबल महासंघले ३५ वर्षीय रोनाल्डोले खुट्टाको उपचार गराइरहेको जनाएको थियो । उनी चोटबाट मुक्त हुन प्रयासरत रहेको महासंघले जनाएको छ ।

अब, उनले मंगलबार हुने स्वीडेनसँग खेल गुमाउन सक्ने सम्भावना रहेको छ ।

पोर्चुगलका प्रशिक्षक सान्टोसले पनि रोनाल्डोले स्वीडेनविरुद्धको खेल गुमाउने संके गरेका छन् ।

क्रोएशियासँगको खेलपछि उनले भनेका छन्, ‘यदि उनी फिट भएको भए म उनलाई आराम दिने थिइनँ । खेल खेल्ने अवस्थामा भएको भए उनी सुरुआती ११ बाटै हुने थिए ।’

‘आज उनले राम्रो महशूसका साथ प्रशिक्षण गरे । उनी स्वीडेन भ्रमणमा हुनेछन् तर हेरौं त्यसपछि के हुन्छ’, उनले थपे ।

Loading...