रेस्टुरेन्ट र पार्टी प्यालेस व्यवसायी पलायन हुँदै

काठमाडौ, २१ भदौ । कोभिड १९ का कारण पार्टी प्यालेस तथा रेस्टुरेन्ट व्यवसाय लामो समय बन्द हुँदा व्यवसायीहरु पलायन हुने स्थितिमा पुगेका छन् ।

जावलाखेलस्थित बगैंचा रेस्टुरेन्ट, बार एन्ड ब्याङक्वेटमा अहिले कुखुरापालन सुरु भएको छ । रेस्टुरेन्टका व्यवस्थापक अर्जुन दाहालले कोभिडका कारण लामो समय व्यवसाय सञ्चालन गर्न नसकिएपछि लोकल कुखुरा, टर्की, कडकनाथ, कालिजलगायत पाल्न थालिएको बताए । बैंकको ऋण तिर्न, घरभाडा तिर्न र कर्मचारीलाई तलब खुवाउन समस्या हुने देखेपछि लोकल कुखुरालगायतका चराहरु पाल्न थालिएको पनि उनले बताए ।

करिब पाँच करोड रुपैयाँ लगानीमा सञ्चालित बगैचाले रेस्टुरेन्ट सेवा, पार्टी प्यालेसलगायतको सेवा उपलब्ध गराउँदै आएको थियो । २५ जनाले रोजगारी पाउँदै आएको रेस्टुरेन्टमा अहिले दुईजना मात्रै कार्यरत छन् । रेस्टुरेन्टमा पालिएको कुखुरा, टर्की, कालिजलगायतको खपत सहज स्थिति भएपछि आफ्नै रेस्टुरेन्टमा गर्ने योजना रहेको पनि दाहालले बताए ।

रेस्टुरेन्ट व्यवसाय जस्तै देशभर सञ्चालित अधिकांश पार्टी व्यालेस व्यवसायीहरु पनि पलायन हुने अवस्थामा पुगेका छन् । पार्टी प्यालेस व्यवसायीहरुको छाता संगठन ‘नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ’ले लकडाउन सुरु हुनुभन्दा पहिले २०७६ चैत ७ गतेदेखि नै देशभरका व्यवसाय बन्द गर्न व्यसायीहरुलाई परिपत्र गरेको थियो । चैत ११ गतेदेखि लकडाउन भयो र साउन महिनामा लकडाउन खुकुलो बनाइए पनि पार्टी प्यालेसहरु खुल्न सकेनन् ।

वैशाख, जेठ र असार महिना पार्टी प्यालेस व्यवसाय सबैभन्दा बढी चल्ने समय पनि हो । तर ती महिनामा पार्टी प्यालेस सञ्चालन गर्न नपाउँदा अर्बौं रुपैयाँ नोक्सान भएको व्यवसायीहरुले बताएका छन् । पार्टी प्यालेस व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाउँदै आएको क्षेत्रको यो व्यवसायमा अर्बौ रुपैयाँ नोक्सानी भइसकेको बताए । उपत्यकालगायत अधिकांश जिल्लामा दोस्रो पटक निषेधाज्ञा जारी भएपछि सम्पूर्ण व्यवसायीको मनोवल खस्किएको पनि उनले बताए । अबको तीन–चार महिना यसैगरी बन्द भएमा उपत्यकामा मात्रै दुई सयभन्दा बढी व्यवसायीहरु विस्थापित हुने पाण्डेले बताए ।

महासंघमा आबद्ध देशभरका पार्टी प्यालेस व्यसायमा ५० हजारभन्दा बढी व्यक्तिले रोजगारी पाउँदै आएका छन् । जसमध्ये १५ प्रतिशत स्थायीरुपमा कार्यरत छन् । लकडाउन भएयता तीन महिनासम्म सबै कर्मचारीलाई पूरै तलब दिएकोमा त्यसपछि भने अधिकांश व्यवसायीले आधा तलब पनि मुस्किलले दिन सकेको प्रवक्ता पाण्डेले बताए । उनले व्यवसाय गर्न सक्ने स्थिति नरहेपछि अव व्यवसायलाई केमा परिणत गर्न सकिन्छ भन्ने चिन्तामा व्यवसायीहरु पुगेको बताए ।

७० प्रतिशत व्यवसाय बैंकको ऋणबाट सञ्चालित रहेकोमा सरकारले किस्ता र ब्याज रकम व्यवसाय पुनः सञ्चालनमा आएपछि मात्रै तिर्ने व्यवस्था मिलाउनसमेत महासंघले अपिल गरेको बताए । अहिलेको स्थितिमा व्यवसाय सञ्चालन गर्दा पनि र नगर्दा पनि व्यवसायीहरु जोखिममा रहेको पाण्डेले बताए ।

कोभिडकै बीचमा पनि व्यवसाय सञ्चालन गर्नका लागि सरकारले मापदण्ड तयार गरिदिनुपर्नेमा पाण्डेले जोड दिए । महासंघमा अबद्ध रहेका ४५ जिल्लाका सात हजारभन्दा बढी पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीसहित सबै जिल्लाका व्यवसायीहरु कसरी भाडा तिर्ने र कर्मचारीको व्यवस्थापन गर्ने भन्ने चिन्तामा रहेको बताए । सरकारले अन्य व्यवसायलाई जस्तै सञ्चालन गर्न दिएर प्रोत्साहन गर्ने नीति लिनुपर्ने उनको भनाइ छ ।

Loading...