मोटरसाइकलमा लागूऔषध लिएर आउँदै गर्दा दुई पक्राउ

विराटनगर, २१ भदौ । मोटरसाइकलमा लागूऔषध लिएर आउँदै गर्दा प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–८ खरेबारीबाट आइतबार बिहान ११ बजे दुई जनालाई पक्राउ गरेको छ ।

सुनवर्षी–८ का १८ वर्षीय भीमकुमार मण्डल र सुनवर्षी–४ का १९ वर्षीय सञ्जु गनगाईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । गनगाईले चलाएको दक्षिणबाट आउँदै गरेको को४प ९४६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा लागूऔषध बरामद भएको उनको भनाइ छ ।

प्रहरी चौकी सिक्टीको टोलीले मोटरसाइकको पछाडि सवार मण्डलका साथबाट लागूऔषध फेला पारेको थियो । डीएसपी राईले उनको साथबाट छ बोतल लागूऔषध स्काफ र एक सय ९० चक्की प्रतिबन्धित औषधि ल्याबोरेट भल्बेल बरामद भएको बताए । उनीहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Loading...