मेस्सी सोमबारदेखि बार्सिलोनाको प्रशिक्षणमा फर्किने

एजेन्सी, २१ भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सोमबार (भोलि)बाट क्लबको प्रशिक्षणमा फर्किने भएका छन् । शनिबार क्लब नछोड्ने घोषणा गरेका अर्जेन्टिनी स्टार मेस्सी भोलिबाट प्रशिक्षणमा फर्किने भएका हुन् ।

मेस्सीले हालै दिएको एक अन्तर्वार्तामा आफू क्याप नोउमै बस्ने जनाएका थिए । ‘गोल डटकम’सँगको अन्तर्वार्तामा उनले भनेका थिए । ’म बार्सिलोनामा रहन्छु र मेरो मनोवृत्ति परिवर्तन हुँदैन । मैले क्लब र अध्यक्षलाई जान चाहने बताएको थिएँ, मैले हरेक वर्ष यस्तो भन्दै आएको छु ।’

केही समयअघि मेस्सीले बार्सिलोनालाई पत्र लेख्दै आफूले क्लब छोड्ने जनाएका थिए । यस्तै मेस्सी क्लबको कोरोना परीक्षण र प्रशिक्षणमा समेत सामेल भएका थिएनन् । तर, अब भने उनले क्लबमै बस्ने निर्णय गर्दै सोमबारबाट प्रशिक्षणमा फर्किने मनसायमा छन् ।

अब उनको कोरोना परीक्षण हुने जनाइएको छ । पीसीआर रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनले बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानसँग प्रशिक्षण थाल्नेछन् ।

बार्सिलोनाले शनिबारबाट प्रि–सिजन थाल्दैछ ।

Loading...