इन्द्रपुर रंगशालामा देखिएको विवाद मिल्यो

सुन्दरहरैंचा, २१ भदाै । मोरङको सुन्दरहरैंचा नगरपलिकामा रहेको प्रस्तावित इन्द्रपुर रंगशाला निर्माणमा देखिएको विवाद मिलेको छ । शनिबार उक्त क्षेत्रमा रहेका ६ वटा संघ सस्थाको संयुक्त बैठकले विवाद मिलेको घोषणा गरेको हो ।

केही दिनअघि प्रस्तावित इन्द्रपुर रंगशाला निर्माण गर्न सुन्दरहरैंचा नगरपालिकामा रहेको पुरानो युथ क्लब सगरमाथा युथ क्लबले संरक्षण समितिमा आफूलाई दाबी गर्दै खेल मैदानमा एक्लौटी रूपमा बोर्ड राखेपछि विवाद उत्पन्न भएको थियो ।

त्यसपछि केही संघ सस्थाको आपत्ति सँगसँगै उत्पन्न भएको विवादलाई क्लबले शनिबार सर्वपक्षीय भेलाको आयोजना गरी समाप्त गरेको सगरमाथा युथ क्लबका अध्यक्ष रोशन कट्टेलले जानकारी दिए ।

क्लबले बोर्ड राखेपछि सुन्दरहरैंचा नगरपालिकामै रहेको एकता युवा क्लबका केही युवाले उक्त बोर्डलाई उखालेर भाँचेको विषयमा समेत ६ वटा संघ सस्थहरूले हस्ताक्षर गरी आपत्ति जनाएका थिए ।

एकता युवा क्लबलाई पटक–पटक छलफल गर्न आउन आग्रह गर्दासमेत वेवास्ता गरी समाजमा उत्शृंखल गतिविधि गरेको विषयप्रति आपत्ति जनाएको कट्टेलले बताए । ‘रंगशाला सबैको हो सबैको अपनत्व हुनुपर्छ तर यस्तो अमानवीय गतिविधिले समाज भड्किने सम्भावना हुन्छ’, उनले भने, ‘क्लबले सच्चिनु आवश्यक छ ।’

शनिबार बसेको ६ वटा क्लबले सगरमाथा युथ क्लबलाई संरक्षण गर्ने संयोजकत्व तोकेर अन्य क्लबलाई संरक्षण समितिको सदस्य बनेर प्रस्तावित इन्द्रपुर रंगशालाको अन्य गतिविधिलाई अघि बढाउने निर्णय गरेको छ ।

Loading...