Rumpum

Rumpum Advertisement

दुई हजार एक सय प्रहरीमा कोरोना संक्रमण

दुई हजार एक सय प्रहरीमा कोरोना संक्रमण

काठमाडौ, २१ भदौ । नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकोमा गत साउनपछि भने संक्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा संक्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले जानकारी दिए । काठमाडौँ उपत्यकाको तीन जिल्लामा सबैभन्दा बढी ६२४ जना सङ्क्रमित भएका छन् । त्यसमध्ये ५५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ जना संक्रमित रहेको जनाइएको छ । त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएका र ७१ को उपचार जारी छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार प्रदेश १ मा ३४०, प्रदेश २ मा २५७, बागमती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदुरपश्चिम प्रदेशमा ३९ जनामा संक्रमण देखिएको छ । प्रहरी प्रवक्ता कडायतले संक्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेको बताए ।

उनका अनुसार अहिले सबै उच्च मनोवलका साथ उपचार गराइरहेका छन् । सबैको अवस्था सामान्य रहेको कडायतको भनाइ छ । सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कोरोना संक्रमण बढिरहेको छ ।