धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, २१ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

झापा कन्काई-३ की ४५ वर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

१८ भदौमा भर्ना भएकी महिलाको आइतबार बिहान १० :४५ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनका अनुसार महिलामा कब्जियत, ज्वरो र श्वासप्रश्वासको समस्या थियो । गम्भीर अवस्थामा प्रतिष्ठान, धरान रिफर भएकी थिइन् ।

परीक्षणका क्रममा महिलामा निमोनियासमेत देखिएको थियो । भेन्टिलेटरको सहायताले उपचार गर्दा पनि प्रयास असफल भएको प्रतिष्ठानले जनाएको छ। योसँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या २३ पुगेको छ ।

Loading...