Rumpum

Rumpum Advertisement

न्यूजील्याण्डमा चार महिनापछि कोरोनाको कारण दुईको मृत्यु

न्यूजील्याण्डमा चार महिनापछि कोरोनाको कारण दुईको मृत्यु

विराटनगर, २१ भदौ । न्यूजील्याण्डमा चार महिनापछि कोरोना संक्रमणको कारण दुई व्यक्तिको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणको प्रभावकारी नियन्त्रण गरेको न्यूजील्याण्डमा २४ मेपछि (९६ दिनपछि) पहिलो पटक एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । एक ५० वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार अकल्याण्ड अस्पतालमा मृत्यु भएको बताइएको छ । क्वारेन्टाइनबाट अस्पताल लगिएका ती पुरुषको केही दिनदेखि सघन उपचार कक्षमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कुक टापुका ८० वर्षीय पूर्व प्रधानमन्त्री नाघेका विलियम्सको अकल्याण्ड सिटी अस्पतालमा मृत्यु भएको थियो । दुई मृत्यु पुष्टि भएसँगै न्यूजील्याण्डमा कोरोना संक्रमणको कारण मृत्युको कुल संख्या २४ पुगेको छ । पछिल्लो साता एक सयभन्दा बढी कोरोना संक्रमित देखिएको सहर अकल्यान्डमा थप पाँचजनामा कोरोना संक्रमण देखिएको थियो ।

न्यूजील्याण्डमा हालसम्म एक हजार सात सय ७२ जना संक्रमित भएका छन् भने ती मध्ये एक हजार छ सय ३२ जना उपचारपछि निको भएर फर्किसकेका छन् । यसअघि कोरोना महामारीको प्रभावकारी नियन्त्रण गर्न सकेको भन्दै न्यूजील्याण्डको प्रशंसा भएको थियो । न्यूजील्याण्ड करिब एक सय दिनसम्म कुनै पनि स्थानीय संक्रमण फेला परेको थिएन । न्यूजिल्यान्डमा पछिल्लो समय संक्रमित देखिन थालेपछि प्रतिबन्धहरु कडा पारिएका छन् ।