रुसको खोपले भाइरसविरुद्ध लड्ने संकेत, कुनै गम्भीर साइड इफेक्ट नभएको दाबी

विराटनगर, २१ भदौ । रुसले विकास गरेको पहिलो कोरोना भाइरसविरुद्धको खोपको परीक्षणले सकारात्मक नतिजा देखाएको छ ।

खोपको परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गर्दै रुसी वैज्ञानिकहरूले खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको दाबी गरेका हुन् । मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा ‘स्पुत्निक भी’ नाम दिइएको खोपको दुईवटा परीक्षण गत जुन र जुलाई महिनाको बीचमा गरिएको उल्लेख छ ।

परीक्षणमा १८ देखि ६० वर्षसम्म उमेरका ३८ जना स्वस्थ स्वयंमसेवकलाई पहिलो खोप लगाइएको थियो र तीन सातापछि उनीहरूलाई बुस्टर डोज दिइएको थियो । ४२ दिनसम्म निगरानीमा राखेर हेर्दा सबै सहभागीहरूमा तीन साताभित्र एन्टीबडीको विकास भएको र सामान्यतया टाउको र जोर्नी दुख्ने साझाखालको साइड इफेक्ट देखिएको थियो ।

कोभिड–१९ को संक्रमण रोक्न ठूलो दीर्घकालीन परीक्षण र थप निगरानी आवश्यक रहेको हुँदा जर्नलमा खोपको तेस्रो चरणको परीक्षणका लागि फरक–फरक उमेर र जोखिम समूहबाट ४० हजार स्वयंमसेवकको सहभागी हुने जनाइएको छ । विज्ञहरूले खोप बजारमा उपलब्ध गराउनका निम्ति अझैँ पनि लामो प्रक्रिया पूरा गर्न बाँकी रहेको बताउँदै आएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वव्यापीरूपमा एक सय ७६ वटा सम्भावित खोप बन्ने प्रक्रियामा छन् । तीमध्ये ३४ वटा मानिसहरूमा परीक्षण भइरहेका छन् भने आठवटाको तेस्रो चरणको परीक्षण भइरहेको छ ।

Loading...