Rumpum

Rumpum Advertisement

मनाङको आइसोलेसनमा दुई संक्रमित

मनाङको आइसोलेसनमा दुई संक्रमित

मनाङ, २१ भदौ । कोभिड–१९ का संक्रमित देशैभर बढ्दै गएको छ । कोभिड संक्रमित निको हुने क्रम पनि बढ्दै गएको छ । लामो समयको अन्तरालमा मनाङमा संक्रमित थपिएसँगै हाल दुईजना आइसोलेसनमा छन् ।

संक्रमितहरुले उच्च मनोवल र सचेतना अपनाएपछि छिट्टै निको पनि भएका छन् । शुक्रबार तीन संक्रमित निको भएसँगै जिल्लामा निको हुनेको संख्या चार पुगेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले जानकारी दिए । उनका अनुसार हालसम्म जिल्लामा छ संक्रमितमध्ये चारजना निको भइसकेका छन् ।

‘निको भएका संक्रमितलाई सम्मानपूर्वक आइसोलेसनबाट बिदाइसमेत गरिसकिएको छ, अब आइसोलेसनमा शुक्रबार थपिएका एकजना र त्यसअघिका एकजना पुरुष गरी दुईजना रहेका छन्, उनीहरु पनि छिट्टै निको हुनेछन्,’ आचार्यले भने, ‘शुक्रबार थपिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट भएको हो ।’

त्रिहत्तरजनाको पीसीआर परीक्षण गरिएकोमध्ये गोरखाको आरुघाट–७ घर भई हाल मनाङमा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले जिल्लामा दुई संक्रमित आइसोलेसनमा रहेको उनले बताए । उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको आचार्यको भनाइ छ ।

यही भदौ १६ गते ७३ जनाको स्वाब नमूना संकन गरिएकामा ७२ जनाको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । हालसम्म १९२ जनाको पीसीआर परीक्षण गरिएकोमा छजनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार आइसोलेसनमा रहेका संक्रमितको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको आचार्यले बताए ।

मनाङमा कोरोना संक्रमणमुक्त भइसकेपछि पुनः संक्रमण देखिएको हो । जिल्लामा संक्रमण देखिन थालेपछि स्थानीयवासी भने त्रसित बनेका छन् । मनाङमा धेरैजसो शिक्षक, कामदार, कर्मचारी बाहिरी जिल्लाबाट आउने हुँदा संक्रमण देखिएको हो । हालसम्म स्थानीयवासीमा भने संक्रमण देखिएको छैन ।