आफ्नै साथीको हत्या गर्ने पक्राउ

झापा, २० भदौ । आर्थिक कारोबारको विषयमा मनमुटाव बढ्दै जाँदा झापाको शिवसताक्षीमा आफ्नै साथीको घाँटी काटेर हत्या गर्ने एकजना पक्राउ परेका छन् । आप्mनै साथीको हत्या गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका–८ का मनकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ११ का २९ वर्षीय गोमनकुमार मगरलाई लिम्बूले सताशीधाम जाने एकान्त बाटोमा लगी धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

भदौ १६ गते साँझ साथी भेट्न जान्छु भनी मगर घरबाट निस्केका थिए । साँझमा उनीहरुको भेट भएपछि हावा खाँदै घुमेर आउँ भनी लिम्बूले गोमनकुमारलाई सताशीधामतर्फ लिएर गएका थिए । गोमनकुमारको मोटरसाइकलमा बसेर एकान्त जंगलका बाटोमा लगी लिम्बूले उनलाई धारिलो कर्दले घाँटीमा रेटेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

भदौ १६ गते साँझबाट हराएका मगरको शव भोलिपल्ट अर्थात् भदौ १७ गते बिहान शताशीधाम जाने सडकको किनारमा घाँटी काटिएको अवस्थामा भेटियो । साथीको मोटरसाइकलमा पछाडि बसी बिस्तारै कुदाउन लगाएर पछाडिबाट कर्दले प्रहार गरी उनको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । मगरको प्रदेश ०१–०१०१२ प ५२२५ नम्बरको मोटरसाइकल पनि घटनास्थलको केही पूर्वपट्टि जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएको धारिलो कर्द, मगरले प्रयोग गर्ने आईफोन र लिम्बूको मोबाइल झिलझिले खोलामा फ्याँकिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।

प्रहरीले अनुसन्धानका क्रममा उनीहरुबीच आर्थिक लेनदेनको कारोबारमा असमझदारी भई यो घटना भएको खुल्न आएको जनाएको छ ।

Loading...