विराटनगर, २० भदौ । विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको अन्तिम संस्कार पछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङ बुढीगंगा गाउँपालिका–५ का ४५ वर्षीय पुुरुषको आफन्तले अन्तिम संस्कार गरेको एक दिनपछि कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
१७ भदौमा बुढीगंगा– २ मा रहेको विराट मेडिकल कलेज भर्ना भएका ४५ वर्षीय पुुरुषको शुक्रबार बिहान करिब ४ बजे मृत्यु भएको थियो ।
विराट मेडिकल कलेजका कोभिड फोकल पर्सन सुनिल देवका अनुसार शुक्रबार रिपोर्ट नआई आफन्तले अन्तिम संस्कारका लागि शव बुुझेर लगेका थिए ।
मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो । शव आफन्तलाई जिम्मा लगाएको एक दिनपछि शनिबार दिउँसो पोजेटिभ रिपोर्ट आएको देवले जानकारी दिए ।
बुढीगंगा गाउँपालिका ५ का वडा सदस्य इन्द्रनारायण माझीका अनुसार मृतकको संस्कारमा १२–१३ जना मलामी गएका थिए । मलामीको पनि कोरोना जाँच गर्ने तयारी भइरहेको उनले बताए ।