लघुकथा : रहस्य

हेमलता उप्रेती

‘यो असत्ती काँडे लहराको भार बोक्दाबोक्दा हैरान भैसकेँ । यसबाट कसरी मुक्ति पाउने होला ?’
आफ्नो शरीरभरि जेलिएको काँडे लहरोतर्फ हेर्दै सिसौले गुनासो पोख्यो ।

सखुवाले भन्यो, ‘यस दुष्टको त के कुरा गर्नु र ! यसका काँडाले मेरो त शरीरै छ्यान्द्राछ्यान्द्रा भैसक्यो ।’

तिनलाई आफूले दिएको पीडा सुनेर काँडे लहरो मनमनै पुलकित भयो । उसको मौनताभित्र दुष्टता झल्कन्थ्यो ।

अर्को महिना एक हुल प्राणीहरु आए र जङ्गल पूरै फडानी गरे । तथापि फडानी गरिसक्नासाथ वर्षायाम सुरु भयो । वर्षातका कारण तीन महिनासम्म उनीहरु त्यहाँ फर्किएर आएनन् । जब उनीहरु आफ्नो बस्ती बसाउन फेरि त्यहाँ आइपुगे, जङ्गलको अवस्था देखेर छक्क परे, किनकि त्यतिन्जेलमा नयाँनयाँ मुनाहरु पलाएर जङ्गल त झन् सुन्दर, हरियालीपूर्ण भइसकेको थियो । हैरान भई उनीहरु एक ठाउँमा बसेर कुरा गर्न थाले, ‘यसरी त यो जङ्गल मासेर बस्ती बसाउन नसकिंने रहेछ । यो जङ्गल मास्ने उपाय के होला ?’

तिनका कुरा सुनिरहेको काँडे लहरोले अस्ति ठूला रुखहरुले आफूलाई गाली गरेको सम्झियो । बदला लिने मौका यही हो भन्ठानी उसले साखिलो हुँदै रहस्य खोलिदियो, ‘यिनका जरा नकाटेसम्म त कहाँ मास्न सकिन्छ र ?’

रहस्यको भेउ पाएर तिनीहरु धमाधम सबै बिरुवाका जरा काट्न थाले । अपितु सर्वप्रथम त्यही काँडे लहरोको जरा काटियो ।

Loading...