मोरङमा एकै दिन चार कोरोना संक्रमितको मृत्यु, ५४ संक्रमित थपिए

विराटनगर, २० भदौ । मोरङमा एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मोरङमा चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुईजना महिला र दुईजना पुरुष छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १-१ पुरुषको मृत्यु भएको हो । मोरङको धनपालथान गाउँपालिका-३ का ५५ वर्षीय पुरुष, बुढीगंगा ५ का ४५ वर्षीय पुरुष, विरानगर-४ र ११ का ६४ र ४३ वर्षीय महिलाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९ पुुगेको छ ।

मृतकमध्ये प्रदेश १ स्थायी ठेगाना भएका २७ रहेका छन् । अन्य १२ जना प्रदेश १ बाहिरका छन् ।

५४ जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा आज ५४ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ७ सय ६१ जनाको पीसीआर परीक्षण गर्दा २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

संक्रमितमध्ये मोरङका ३४, सुनसरीका १३, झापाका ५, इलामका १ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनागरका १४ महिला १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १-१ पुरुष र जहदाकी १ महिला, सुनसरीको इटहरीका २ महिला ६ पुरुष, धरानका ४ महिला १ पुरुष, झापाको दमकका १ महिला २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८७९ पुगेको छ ।

प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८३५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Loading...