Rumpum

Rumpum Advertisement

मनको मनसुन

मनको मनसुन

सन्ध्या आचार्य

कहाँ छ र मनसुन अहिले यहाँ ?
यहाँ त मन शून्य शून्य छ ।
जुनको ज्योत्सना सरेर
पर कता–कता पुगिसक्यो
मनभित्रको झरना कैद गरिएको छ कुनै तलावमा ।

हो म यही बेलाको कुरा गर्दैछु
जुनबेला गुराँसबाट लाली हराइसकेको छ
जूनको चहक त परको कुरा
जूनकिरीको चहलपहलसमेत छैन मनमा ।

अस्थीर छु कसरी भनुँ
स्थीरताकै परख नभएपछि
म चौबाटोमा अलमल्ल छु
मुलबाटो बिर्सिएर दोधारमा छु ।

एकचोटिलाई अहमको आकाश उघारिदेऊ
लाग्न देऊ मेरो नामका करोडौं न्याना घामहरु
फाँडी देऊ बैरभावका जंगलहरु
रोपिदेऊ मेरै नामका गुराँसका बोटहरु
फुल्न देऊ हाम्रा नाममा अनगन्ती लालीगुराँसहरू
एकपटक फेरि सोध्न सकुँ म तिमीलाई
गुराँसलाई छिल्लिन, जताभावी फुल्न किन प्रतिबन्ध छैन ?
गुराँस र पहाडको बेनाम सम्बन्ध किन जायज छ ?

माया गरेपछि जरुरी हुन्छ
अलिकति चञ्चलता
अलिकति भावुकता
र अलिकति संयमता
ममा भावुकता लाली बस्दै गर्दा
अलिलि चञ्चलताको कोपिला बस्दै गर्दा नै
टाँस्सिएका हुन् बदनामीका र बेइमानीका दागहरु
जसलाई टक्टक्याउन तिमी हुनपथ्र्यो
जसलाई सम्हाल्न तिमी हुनुपथ्र्यो
आखिर मेरो चञ्चलता भन्नु नै तिम्रै लागि त थियो ।

त्यसो त फुलिसकेरै झर्ने सौभाग्य
सबै गुँरासको पनि कहाँ हुन्छ र
फुल्नै नपाई पनि झरेका छन् कोही
फुल्नलाई अर्को ऋृतु कुरेर बसेका छन् कोही ।

पहाडले पनि प्रतीक्षाको तपस्या बसिदिन्छ
फेरि अर्को ऋतुमा फुल्ने गुराँसको जोबनमा अर्थ थपिदिन्छ ।

उसरी नै नयाँ ऋतु कुरिरहेछु म
फुल्नु छ तिम्रो मनको पाखैभरि गुराँस भएर
रंगिनु छ तिम्रो मायाको लालीमा गुराँस भएर ।

त्यसपछि त प्रिय !
फेरि मनसुन आउनेछ
फेरि चाँदीको जून लाग्ने छ
मनमा दूधको झरना उसरी नै छङछङती बग्नेछ ।

भन न प्रिय
तिमी पहाड बन्न सक्छौ ?