कर्मचारीलाई कोरोना देखिएपछि नगरपालिका बन्द

काठमाडौ, २० भदौ । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीलाई संक्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए ।

कार्यालय बन्द रहे पनि कोरोना नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कामहरु निरन्तररुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए । टोखामा शुक्रबारसम्म २५७ कोरोना संक्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १०९ जना होम आइसोलेसन र ४८ जना विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । नगरपालिकाले कोरोना संक्रमणको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्यकेन्द्रलाई आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

अहिले २० बेड क्षमता रहेको आइसोलेसन सेन्टर स्थापना गरे पनि आगामी दिनमा उक्त आइसोलेसन सेन्टरको क्षमता वृद्धि गरेर सय बेड पु¥याउने नगरपालिकाले जनाएको छ ।

होम आइसोलेसनमा बसेर कोरोना उपचार गराइरहेका बिरामीलाई दैनिक ३५० भत्तासमेत प्रदान गरिएको छ ।

Loading...