Rumpum

Rumpum Advertisement

विराटनगरमा कोरोनाको आशंका गरिएकी वृद्धाको मृत्यु, रिपोर्ट आउन बाँकी

विराटनगरमा कोरोनाको आशंका गरिएकी वृद्धाको मृत्यु, रिपोर्ट आउन बाँकी

विराटनगर, २० भदौ । कोरोना भाइरस संक्रमणको आशंका गरिएकी एक वृद्धा महिलाको उपचारका क्रममा कोशी अस्पतालमा शनिबार बिहान मृत्यु भएको छ ।

अस्पतालका बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले विराटनगर महानगरपालिका–९ की ७० वर्षीया वृद्धाको उपचाररत अवस्थामा अस्पतालको आकस्मिक कक्षमा बिहान १० बजे मृत्यु भएको बताए । वृद्धामा मधुमेहको पुरानो समस्या रहेको उनले बताए ।

मधुमेहको पुरानो समस्यासँगै शरीर गल्ने, श्वास फेर्न गाह्रो हुनेलगायतका समस्या पनि थपिएपछि उनलाई उपचारका लागि बिहान ७ बजे अस्पताल ल्याइएको थियो । तत्काल आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिए पनि वृद्धालाई बचाउन नसकिएको डा. यादवको भनाइ छ ।

उनका अनुसार कोरोनासँग मिल्ने लक्षण रहेका कारण पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । रिपोर्ट आइसकेपछि मृतकमा कोरोना छ कि छैन भन्ने पुष्टि हुने उनले बताए ।

रिपोर्ट आएपछि शव व्यवस्थापनको प्रक्रिया अघि बढाइने डा. यादवले बताए । कोरोना पुष्टि भएमा शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने र कोरोना रिपोर्ट नेगेटिभ आएमा अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइने जानकारी उनले दिए ।