Rumpum

Rumpum Advertisement

कास्कीमा थपियो एक हप्ता निषेधाज्ञा

कास्कीमा थपियो एक हप्ता निषेधाज्ञा

पोखरा, २० भदौ । कोरोना भाइरसको संक्रमण बढिरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाइँसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गरेको आदेशअनुसार अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा मानिसले अनिवार्यरुपमा स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गर्नु पर्नेछ । मानिसले बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दुरी कायम गर्ने, पटक–पटक साबुनपानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्नेलगायतका व्यवस्थासहितको आदेश जारी गरिएको छ ।

सार्वजनिक सवारीसाधन सञ्चालन गर्न निषेध गर्दै प्रशासनले जिल्लाभर जोर गते जोर र बिजोर गते बिजोर नम्बरका टयाक्सी तथा निजी सवारीसाधन बिहान ६ः०० बजेदेखि साँझ ८ः०० बजेसम्म सञ्चालन गर्न सकिने जनाएको छ । शैक्षिकलगायतका सार्वजनिक भेला र भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ भने तोकिएको मापदण्डमा कार्यालय सञ्चालन गर्नु पर्नेछ ।

कामदार तथा सेवाप्रवाहलाई सुरक्षित बनाई सबै प्रकारका निर्माण कार्य तथा उद्योग सञ्चालन गर्न सकिने आदेशमा भनिएको छ । आंशिकरुपमा खुल्ने होटल तथा रेष्टुरेण्टले खाद्य बस्तु लिएर घर लैजान सक्ने गरी मात्र साँझ ७.०० बजेसम्म सञ्चालन गर्न अनुमति पाएका छन् ।