विराटनगरमा तीव्र बनाइयो रक्तदान

विराटनगर, २० भदौ । कोरोना भाइरसको महामारीका बीचमा भएको रगत अभाव टार्नका लागि लायन्स क्लब अफ विराटनगर गुराँसले शनिबारबाट साताव्यापी रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले पहिलो पटक रगत दिएर कार्यक्रमको शुभारम्भ गरे । केही प्रहरीले पनि रक्तदान स्थलमा पुगेर रगत दिएका छन् । लायन्स क्लबले रगत दान गर्न सर्वसाधारण, नागरिक अगुवा, सरकारी कर्मचारी, सुरक्षाकर्मी, पेसाकर्मी सबैलाई आह्वान गरेको छ ।

रगत दिने तयारी गर्दै मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का ।

क्लबका अध्यक्ष मदन खतिवडाले एक साताको अवधिमा तीन सय पिन्ट रगत संकलन गरेर रक्तसंचार केन्द्रलाई बुझाउने योजना रहेको जानकारी दिए । उनले विशेष गरेर बिरामीका लागि अभाव भइरहने समूहको रगत संकलन गरिएको बताए । कोरोनाका कारण रगत अभाव हुँदा बिरामीको ज्यान जान सक्ने जोखिम बढेकाले रक्तदानलाई प्राथमिकतामा राखेर कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ ।

त्यस्तै लायन्स क्लब अफ विराटनगर शुभमले पनि रगत संकलनका लागि साताव्यापी कार्यक्रम संचालन गरेको छ । उसले शनिबार बिहानसम्ममा ४७ पिन्ट रगत संकलन गरिसकेको छ ।

रगत अभावको समस्या समाधान गर्नका लागि प्रदेश १ मा विभिन्न संघ संस्थाले रक्तदान कार्यक्रमलाई तीव्र बनाएका छन् । रक्तसंचार केन्द्र केन्द्र विराटनगरको आह्वानमा संघ संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै रगत संकलन गर्न थालेका हुन् । विभिन्न लायन्स क्लब, इन्जिनियर एसोसिएशन, सरकारी एवं गैर सरकारीसमेतका संघ संस्थाले केन्द्रमै रक्तदान कार्यक्रमको आयोजना गरेर रगत अभाव टार्ने प्रयास थालेका छन् ।

रक्तसंचार केन्द्र प्रदेश १ का प्रमुख एवं प्राविधिक इन्चार्ज शिवानन्द यादवले कोरोना महामारीमा लामै समयदेखि रगतको अभाव खड्किएपछि समस्या भएको सुनाए । ‘कोरोना त्रासका कारण रक्तदान कार्यक्रमहरु आयोजना हुन सकेनन्,’ उनले भने, ‘रगत अभाव भएर बिरामीको ज्याननै जान सक्ने अवस्था थियो ।’ तर विभिन्न संघ संस्थालाई रक्तदानका लागि आह्वान गरेपछि अहिले त्यो समस्या टर्ने अवस्थामा रहेको उनको भनाइ छ ।

यादवका अनुसार कोरोना त्रासका कारण रगत दिन कोही पनि नआउने र सामूहिक रक्तदान कार्यक्रम आयोजना नहुने अवस्था थियो । अहिले भने कोरोना संक्रमणबाट सुरक्षित हुन अपनाउनु पर्ने सबै मापदण्ड पूरा गरेर इच्छा भएका संस्थाले रक्तसंचार केन्द्रमै आएर रक्तदान गर्न सक्ने उनको भनाइ छ ।

उनले नियमित रुपमा रक्तदान कार्यक्रम भइरहँदा मात्रै रगतको अभाव नहुने पनि बताए । प्रदेश १ मा एक दिनमा ४० पिन्टभन्दा बढी रगतको आवश्यकता पर्ने जानकारी यादवले दिए । विराटनगरस्थित केन्द्रबाट विराटनगरका सबै अस्पताल, इटहरी, धरान, लाहान, दमक, बिर्तामोडसमेतका स्थानमा रगत आपूर्ति हुँदै आएको उनको भनाइ छ ।

Loading...