नेशन्स लिग : इटाली बराबरीमा रोकियो

एजेन्सी, २० भदौ । यूईएफए नेशन्स लिगमा इटाली बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको समूह चरणको खेलमा इटाली बोस्निया एण्ड हर्जगोविनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

इटालीको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका लागि स्टेफानो सेन्सीले गोल गरे भने बोस्नियाका लागि इडिन डेकोले गोल गरे ।

खेलमा पाहुना टोलीले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५७औं मिनेटमा डेकोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

यस्तै खेलका ६७औं मिनेटमा सेन्सीले गोल गोल गर्दै इटालीलाई बराबरीमा फर्काए । र, बाँकी समय गोल नहुँदा दुवै टोलीले बराबरी अंक बाँडे ।

समूह ‘ए’मा रहेका इटाली र बोस्नियाले १–१ अंक जोडे । सोही समूहमा नेदरल्याण्ड्सले पोल्याण्डमाथि १–० गोलको जित निकाल्दै ३ अंक जोड्यो ।

Loading...