श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग

विराटनगर, २० भदौ । कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ ।

त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका रोजगारदाता कम्पनीले १० देखि २० प्रतिशतसम्म नेपाली श्रमिकको माग आउने जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालका सबै श्रम गन्तव्य मुलुक कोभिड–१९ बाट प्रभावित भएकाले भर्खर ठूलो सङ्ख्यामा माग आउने सम्भावना नभएको बताए ।

उनका अनुसार यसअघि आउने मागमा १० देखि २० प्रतिशतसम्म माग आउँछ कि भन्ने आशा हो । श्रम गन्तव्य मुलुकको आर्थिक अवस्था कमजोर भएकाले समस्या हुन सक्ने उनको भनाइ छ ।

अहिले मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) कुवेत, ओमानलगायतका देशबाट भन्दा पनि युरोपेली देश माल्टा, रोमानिया, पोल्यान्डजस्ता देशबाट माग आउने सम्भावा देखिएको र ती देशले थोरै अनि दक्ष श्रमिकको माग गरे पनि दक्ष श्रमिकले राम्रो आम्दानी गर्नसक्ने भएकाले देशमै श्रमिक पठाउन बढी जोड रहेको महानिर्देशक दाहालको भनाइ छ ।

नेपाल वैदेशिक रोजगार सङ्घका अध्यक्ष विष्णु गैरेले नेपालले श्रम स्वीकृति खुला गरेसँगै कतार र संयुक्त अरब इमिरेट्स (यूएई)ले भिसा इस्यु गर्न थालेको जानकारी दिए । उनले सानो सङ्ख्यामा श्रमिकको माग हुने, ओमान, बहराइन, कुवेतबाट पनि केही सङ्ख्यामा माग आउन थालेको
बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...