बेलबारीमा १ सय १ विपन्न परिवारलाई नयाँ घर

बेलबारी, १९ भदौ । मोरङको बेलबारीमा १०१ परिवारलाई नयाँ घर निर्माण गरिदिएको छ । कमजोर आर्थिक अवस्था भएका नगरभित्र बस्ने नागरिकहरूका लागि सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा नगरपालिकाले नयाँ घर निर्माण गरिदिएको हो ।

बेलबारी ३, ४,१० र ११ मा घरहरू निर्माण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए । बेलबारी– ३ मा ४०, वडा नम्बर ४ मा २०, वडा नम्बर ११ मा ४० र १० मा १ गरी जम्मा १ सय १ वटा घरहरू निर्माण भएको हो ।

पहिले बासको घरमा बस्दै आएकी सीता राई चिटिक्क परेको घरमा बस्न पाएपछि खुशी छन् । प्रत्येक घरमा बरण्डा र तीन वटा कोठा र गाढा निलो रङको टिनको छानो लगाइएको छ ।

‘यति राम्रो घर बस्न पाउछौं भन्ने लागेको थिएन,’ बेलबारी– ४ का असित राईले भने, ‘ राम्रो घरमा बस्न पाउँदा खुशी छौं ।’

घर बनाउन प्रति घर नगरपालिकाको १ लाख ५० हजार, सहारा नेपाल र ह्याविटेड नेपालको १ लाख गरी जम्मा २ लाख ५० हजार खर्च गरिएको छ ।

Loading...