विराटनगरमा संक्रमितको तथ्यांक संकलनमा लापरवाही

मृत्यु भएको १५ दिनपछि डाटा इन्ट्री

विराटनगर, १९ भदौ । समुदायस्तरमा कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकामा संक्रमितको व्यवस्थापन र तथ्यांकक संकलनमा लापरवाही गरेको पाइएको छ ।

महामारी नियन्त्रणकाका लागि योजना बनाउन तथ्यांकक महत्त्वपूर्ण हुन्छ । तर विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको तथ्यांकक संकलनमा नै लापरवाही गरेको पाइएको हो ।

विराटनगर महानगरपालिकाको रेकर्डमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ११ सय १० उल्लेख छ । होम आइसोलेशन र होल्डिङ आइसोलेशनमा बस्नेको ६९२ छ । ४४४ जना संक्रमणमुक्त भएका छन् ।

महानगरको तथ्यांकमा १० जनाको मृत्यु भएको उल्लेख छ । यो संख्या जोड्दा ११ सय ४६ पुग्छ । महानगरको दैनिक लिष्टमा संक्रमितको संख्या ३६ अंकको फरक छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा विराटनगरमा संक्रमितको संख्या ११ सय ५७ छ । प्रदेश सरकारको तथ्यांकमा विराटनगरमा मृतकको संख्या ११ उल्लेख छ । तर विराटनगर महानगरपालिकाले भने १० जनाको मात्र मृत्यु भएको रेकर्ड रोखेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका विराटनगर–१० का एक पुरुषको पहिलो रिपोर्ट पोजेटिभ र दोस्रो रिपोर्ट नेगेटिभ आएको थियो । प्रदेशले पहिलो रिपोर्टलाई नै आधार मानेको मृतकको संख्या ११ रहेको बताएको हो । तर महानगरपालिकाले दोस्रो नेगेटिभ रिपोर्टलाई आधार मानेको छ ।

तथ्यांक व्यवस्थापनमा लापरवाही गर्दै आएको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले विराटनगर–८ मा एक संक्रमतिको मृत्यु भएको १५ दिनपछि तथ्याङक इन्ट्री गरेको थियो ।

१ भदौमा विराटनगर–८ का राजवंशी थरका ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । मृत्यु भएको १५ दिनपछि महानगरपालिकाले तथ्यांक अपडेट गरेको हो ।

विराटनगर महानगरपालिकाले जनस्वास्थ्य निरीक्षक हैदर अलीको कोभिड १९ रोकथाम तथा नियन्त्रण टोलीको सुपरभाइजर हुन् । उनको नेतृत्त्वमा ३० जनाको टोली परिचालित छ । उनी महानगरलाई मृतकको विवरण नै ढिलो प्राप्त भएका कारण अपडेट ढिलो भएको बताउँछन् ।

महानगरमा पाँचजना स्वास्थ्य महाशाखाका कर्मचारीलाई होम आइसोलेशनमा भएका संक्रमितलाई हेर्ने जिम्मेवारी दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित संक्रमित सम्पर्कमा रहेर अवस्था बुझ्नुपर्ने प्रोटोकल बनाएको छ ।

तर विराटनगरमा भने संक्रमित सबैलाई सम्पर्क गर्न सकेको छैन । ‘नियमित फोन गर्छाैं भन्छन् तर मलाई आएको छैन,’ विराटनगर– ६ का एक संक्रमितले भने, ‘२–३ दिनमा एकपटक सम्पर्क गर्छन् ।’

होम आइसोलेशनमा बसेकाहरूलाई सम्पर्क गर्ने जिम्मेवारी पाएको टिमका संयोजक दीलिप यादव नियमित सम्पर्क गरिरहेको बताउँछन् ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की महानगरपालिकालाई विवरण नै ढिलो आउने गरेको बताउँछन् ।

Loading...