गृहमन्त्री थापाले भने : जनताको दुःखमा सरकार साथ छ

बाग्लुङ, १९ भदाै । गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरूलाई शुक्रबार राहत सामग्री प्रदान गर्नुभएको छ । उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गरे ।

गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो ।

बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो ।

राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढी प्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताएकाे सासंद् पौडेलले जानकारी दिए ।

“जनताको दुःखमा सरकार साथै रहेको उल्लेख गर्नुभएको छ”, उनले भने ।

गृहमन्त्री थापाले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले रु. दुई लाखका दरले राहत प्रदान गर्ने बताएका छन् ।

यस्तै पूर्णरुपमा क्षति भएका घरको पुनः निर्माणका लागि रु. तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको सांसद् पौडेलले बताए ।

उनले बाढीले क्षतिग्रस्त बनाएको सालझण्डी–ढोरपाटन सडकको मर्मत र स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले बाढीले सडक, पुललगायत भौतिक संरचनामासमेत ठूलो क्षति पुगेकाले तिनको पुनःनिर्माणमा सबैको हातेमालो चाहिने उल्लेख गरे ।

बुधबार राति भुजीखोलामा आएको बाढीका कारण ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो धनजनको क्षति भएको छ । सबैभन्दा बढी वडा नं. ९ प्रभावित छ । बाढीमा बेपत्ता भएका १४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Loading...