रुपन्देहीमा थप तीन जनाको कोरोनाबाट ज्यान गयो

रुपन्देही, १९ भदौ । रुपन्देहीमा शुक्रबार थप तीन जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ निवासी ६४ वर्षीया महिलाको मृत्यु भएको गौतम बुद्ध अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार भेन्टिलेटरमै उपचार भइरहेको अवस्थामा आज बिहान ८.४५ बजे उनको मृत्यु भएको हो ।

यसैगरी स्वास्थ्य कार्यालय रुपन्देहीले होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको पनि आजै मृत्यु भएको जनाएको छ ।

मिर्गौलाले काम नगरेपछि चितवनमा डाइलोसिस गरेर फर्किएका उनको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना भेक्टर कन्टोल निरीक्षक केदारनाथ साहले बताए ।

त्यस्तै आज बिहान बुटवलको कोरोना विशेष अस्पतालमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुटवल ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

Loading...