सीपीएल : सन्दीप सम्मेलित जमैका सेमिफाइनलमा

एजेन्सी, १९ भदौ । नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने सम्मेलित जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) को सेमिफाइनलमा स्थान बनाएको छ ।

शुक्रबार राति अमेजन वारिवर्सले बर्बाडोस ट्राइडेन्स गुएनालाई हराएसँगै जमैकाले दुई खेलअघि नै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

जमैकासँगै गुएना, ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जोउक्स सेमिफाइनल प्रवेश गरेका छन् । यता, बर्बाडोस र सेन्ट किट्स एण्ड नेभिज प्याट्रियट्स भने सीपीएलबाट आउट भएका छन् ।

आठ खेल खेल्दा जमैकाले ६ अंकका साथ चौथो स्थान बनाएको हो । यता, नाइट राइडर्स ८ खेलमध्ये सबैमा जित निकाल्दै १६ अंकका साथ शीर्ष स्थानमा छ ।

दोस्रो स्थानको गुएनासँग १२ अंक छ भने तेस्रो स्थानको सेन्ट लुसियासँग १० अंक छ ।

अब सेमिफाइनलका खेलहरू ८ सेप्टेम्बरबाट सुरु हुनेछन् ।

जारी प्रतियोगितामा सन्दीपले आठ खेल खेल्दै १० विकेट हात पारेका छन् । जुन अघिल्लो संस्करणको भन्दा धेरै हो ।

सन्दीपले सन् २०१८ मा पहिलो पटक सीपीएल खेलेका थिए । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट पहिलो सिजन खेलेका सन्दीपले ५ खेलमा ७ विकेट हात पारेका थिए ।

यस सिजनको सीपीएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

Loading...