Rumpum

Rumpum Advertisement

कृषकका दुःख : उत्पादन बढ्यो तर बजार पाइएन

कृषकका दुःख : उत्पादन बढ्यो तर बजार पाइएन

मोहन ढकाल
विराटनगर, १९ भदौ । लकडाउनका कारण कृषकले कृषि उत्पादनको मूल्य नपाएको गुनासो गरेका छन् । यातायात बन्द हुँदा कृषि उत्पादनले बजार नपाएको गुनासो गरेका हुन् ।

मोरङको बुढिगंगा गाउँपालिका–६ कोहलपुरका स्थानीयले सामूहिक कागती खेती गरेका छन् । सृष्टि कृषक समूहमार्फत खेती गरेका कृषकले गत वर्ष एक लाख रुपैयाँको कागती बिक्री गरेका थिए । तर यो वर्ष उत्पादन राम्रो भएपनि बिक्री गर्न बजार नपाएको समूहका अध्यक्ष आशाराम चौधरीले बताए । बारीमा दुई लाख मूल्यबराबरको कागती बारीमा कुहिएर गएको उनले बताए ।

‘पहिले अचार बनाउन घरेलु उद्योगले पनि कागती लाने गरेका थिए,’ उनले भने, ‘यो वर्ष कसैले पनि लगेनन् बेच्न नसक्दा कागती बारीमा नै खेर गयो ।’

सृष्टि कृषक समूहमार्फत कृषकले सामूहिक मकै खेती अभियान पनि सञ्चालन गरेका छन् । गत वर्ष २५ विगाहा क्षेत्रफलबाट सामूहिक मकै खेती गरेका कृषकले राम्रै आम्दानी गरेका थिए । तर यो वर्ष मकै खेतीमा पनि राम्रो आम्दानी नभएको कृषक समूहका सचिव सत्यनारायण चौधरीले बताए ।

‘यो वर्ष करिब १ सय ५० विगाहा क्षेत्रफलमा मकै खेती थियो,’ उनले भने, ‘तर मूल्य पाइएन ।’ थोरै क्षेत्रफलबाट राम्रो आम्दानी भएपछि हौसिएका कृषकले मकै खेती बढाएका थिए । तर मकै बिक्री नहुँदा समस्या परेको उनीहरूले बताए ।

स्थानिय उद्योगहरूले मकै खरिद गर्न नमानेको चौधरीले बताए । ‘सुरुमा मल नपाउँदा महँगो मूल्यमा किनेर मकैमा लगाइयो,’ चौधरीले भने, ‘अहिले बजारको अभाव छ ।’

समूहमार्फत कृषकले धान खेती पनि गरेका छन् । रासायनिक मल नपाउँदा धानको उत्पादन घट्ने सम्भावना रहेको उनले बताए ।

सरकारले कृषकका लागि छुट्याएको अनुदान वास्तविक कृषकले नपाउने गरेको बुढिगंगाका अगुवा कृषक विष्णु मगरले बताए । सरकारले वेवास्ता गर्दा कृषकहरू मरमा परेको कृषक विनोद चौधरीको गुनासो छ ।

सरकारले कृषकका उत्पादन बिक्रीका लागि बजार व्यवस्थापन गर्न नसकेको उनले बताए । कृषकका समस्या समाधान गर्न, बिचौलियाको प्रवेशलाई रोक्न तीनै तहको सरकारले भूमिका खेल्नुपर्ने उनले बताए ।