खुर्पा प्रहार गरी हत्या, टाउको बोकेर प्रहरी कार्यालयमा आत्मसमर्पण

धादिङ, १९ भदौ । धादिङको नीलकण्ठ नगरपालिका–१३ मा एक युवकले ६४ वर्षीय पुरुषलाई खुर्पा प्रहार गरी हत्या गरेका छन् ।

स्थानीय २६ वर्षीय राजु परियारले सोमबहादुर गुरुङलाई बिहीबार राति खुर्पाले हानेर हत्या गरेका हुन् ।

सामान्य विवाद हुँदा गुरुङको घरभन्दा केही पर सडकमा हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

हत्या गरिएका युवकले गुरुङको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमर्पणका लागि आएको प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले बताए ।

‘सामान्य विवाद हुँदा खुर्पाले हानेर हत्या गरी राति १ बजेतिर प्रहरी कार्यालयमा आइपुगेका हुन् । घटनाको विस्तृत विवरण अनुसन्धानपछि मात्र खुल्ने छ’, उनले भने ।

Loading...