पर्सा, बारा र चितवनमा सुरक्षाकर्मीसहित ११९ संक्रमित थपिए

विराटनगर, १९ भदौ । पर्सा, बारा र चितवनमा पछिल्लो १२ घण्टामा सुरक्षाकर्मी र बैंकका कर्मचारीसहित कोरोना भाइरसका एक सय १९ जना नयाँ संक्रमित थपिएका छन्् ।

वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सुरक्षाकर्मी र बैंकका कर्मचारीसहित पर्सा र बारामा नयाँ ४५ जना संक्रमति थपिएका हुन् । जसमा पर्साका २६ जना र बाराका १९ जना छन् ।

बिहीबार प्रयोगशालामा पाँच सय ८४ जनाको पीसीआर परीक्षण गरिएकोमा पाँच सय ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले संक्रमितहरु १८ देखि ४५ वर्ष उमेर समूहका र १० जना महिला रहेको जानकारी दिए ।

पर्साका संक्रमितमध्ये १९ जना वीरगञ्जका छन् । नबिल बैंकमा कार्यरत पाँच जना पुरुषमा कोरोना देखिएको छ । कामना विकास बैंकमा कार्यरत एक जनामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै बाराको इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत छ प्रहरी र सशस्त्र प्रहरी बल पिलुवामा कार्यरत दुई जनामा पनि कोरोना पुष्टि भएको छ ।

त्यस्तै चितवनमा एकै दिनमा ७४ जनामा संक्रमण देखिएको छ । भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तै, राप्ती नगरपालिकाका नौ, खैरहनी नगरपालिकाका चार, रत्ननगर नगरपालिकाका तीन र कालिका नगरपालिकाका दुई जनामा संक्रमण देखिएको छ । संक्रमितहरु एक वर्षदेखि ७४ वर्ष उमेरसम्मका छन् ।

चितवनमा हालसम्म संक्रमित संख्या नौ सय नजिक पुगेको छ ।

Loading...